कोरोना प्रभावित यूरोपेली र खाडी मुलुकका नागरिकका लागि प्रवेशाज्ञा रोकियो
काठमाडौं। सरकारले यूरोपेली र मध्यपूर्वका कोरोनाको बढी संक्रमण देखिएका देशहरुको भिसा रोकेको छ। कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समुन्वय समितिको बैठकले यसअघि विभिन्न ५ देशबाट आउनेहरुको भिसा रोक्ने निर्णय गरेकोमा बिहीबार पूरोपेली र मध्यपूर्वका संक्रमित देशहरुबाट समेत भिसा रोक्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बढी संक्रमित देशहरुको नाम संकलन भइरहेको बताए। तत्काल हवाई उडानहरु कटौती नगर्ने निर्णय पनि बैठकले गरेको उनले बताए।
बैठकले संक्रमण भइहालेको अवस्थामा तयारी गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । क्वारेन्टाइन सेन्टर, आइसोलेसन कक्ष तथा उपकरणहरुको आपूर्ति बढाउन मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए।
त्यसैगरी उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुको सुरक्षाका उपकरणहरुको आपूर्ति गर्न पनि समितिले भनेको छ । मन्त्री खतिवडाले तत्काल विद्यालय र परीक्षाहरु स्थगित नगर्ने निर्णय गरिएको बताए।
आवश्यक परेको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको मेडिकल टिम र मेडिकल कलेज तथा अन्य संघ संस्थाहरुबाट स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ । सरकारले सार्वजनिक समारोह, राजनीतिक भेला निरुत्साहित गर्न पनि आग्रह गरेको छ । यसैगरी विवाह, भोजभतेर र बढी मान्छेहरु जम्मा हुने कामहरु नगर्न र सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वभरी नै महामारी घोषणा गरेपछिको अवस्थाको समीक्षा गर्दै बैठकले नेपालमा जोखिमको अवस्था र छिमेकी मुलुकहरुको अवस्था तथा उपनाउनुपर्ने सतर्कताका बारेमा पनि छलफल गरेको छ ।
Facebook Comment