कोरोना कहर : क्यानडाका प्रधानमन्त्रीकी श्रीमती संक्रमित, विश्वभर झण्डै पाँच हजारको मृत्यु
एजेन्सी। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी श्रीमती सेफी ट्रूडो कोरोना भाइरसबाट संक्रमित भएकी छन्। क्यानडाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीकी श्रीमती सोफी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेको हो।
सोफीसँगै अब प्रधानमन्त्री जस्टिन पनि आइसोलेशनमा बस्ने भएका छन्। प्रधानमन्त्री जस्टिनले अब घरबाटै कामकाज सम्हाल्ने भएका छन्। सोफी मंगलबार लन्डनबाट फर्किएकी थिइन्। त्यसपछि उनी विमारी भएकी थिइन्।
बिहीबार उनको स्वास्थ्य रिपोर्ट पोजेटिप आएको थियो। क्यानडा सरकारले कोरोना संक्रमित सोफीको स्वास्थ्य अवस्था पहिला भन्दा राम्रो रहेको जनाएको छ। उनलाई सवाधानी अपनाउन आग्रह गरिएको छ। उनलाई डाक्टरहरुले निगरानीमा राखेका छन्।
प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री जस्टिन ट्रूडो स्वस्थ रहेको जनाएको छ। उनमा कुनै पनि विमारीको लक्षण नदेखिएको विज्ञप्तिमा जनाइएको छ।
डाक्टरहरुले उनलाई १४ दिनसम्म आइसोलेनशमा बस्न सल्लाह दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएको छ। बिहीबार क्यानडामा ३५ नयाँ कोरोना भाइरस संक्रमितको पुष्टि भएको थियो। योसँगै क्यानडामा कोरोना भाइरस संक्रमिताको संख्या १३८ पुगेको छ।
यसैबीच विश्वव्यापी महामारीको रुपम लिएको कोरोना भाइरसबाट हालसम्म ४ हजार ९ सय ७३ जनाको मृत्यु भइसकेको छ।
स्पेनका मन्त्री कोरोना भाइरस संक्रमित
स्पेनकी मन्त्री इरेन मोन्टोरोमा पनि कोरोना भइरसको संक्रमण देखिएको छ। स्पेनले बिहीबार मन्त्री मोन्टोराको स्वास्थ्य परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो।
मोन्टोरोसँगै उनका एक साथी, उपप्रधानमन्त्री कार्मेन काल्वो र पडेमस पार्टीका नेता प्याबलो इगलेसियासलाई क्यारेन्टाइनमा राखिएको छ।
योसँगै स्पेन सरकारले सबै मन्त्रीलाई कोरोना भाइरसको जाँच गराउन भनेको छ। अहिलेसम्म स्पेनमा २ हजार दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ। अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको छ।
इटलीमा मृतकको संख्या हजार नाध्यो
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शुक्रबार एक हजार १६ पुगेको छ। यहाँ अहिलेसम्म १५ हजार ११३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। चीनपछि कोरोना भाइरसको धेरै असर इटली र इरानमा देखिएको छ।
इटलीमा उपचारपछि १ हजार २ सय ५८ जना स्वस्थ भएका छन्। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३४ हजार ६ सय ७९ पुगेको छ भने ४ हजार ९ सय ७३ जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरसलाई मध्यनजर गर्दै डिज्जीवल्र्डले अमेरिकाको फ्लोरिडा र फ्रानसको राजधानी पेरिसको थीम पार्क बन्द गरेको छ। उता न्यूयोर्कमा ५०० भन्दा धेरै मानिस जम्मा हुन रोक लगाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार कोरोना भाइरसलाई महामारी घोषित गरेको थियो। डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेयोसियोसलेले कोरोना एकै समयमा विश्वभर फैलिएको बताएका छन्।
उनले अन्तर्राष्ट्रिय समुदायसँग महामारीलाई रोक्नका लागि तत्काल र आक्रामक कारवाहीका लागि अपिल गरेका छन्।
Facebook Comment