८० करोडको लक्ष्मी म्युचुअल फण्ड आउँदै
काठमाडौं। लक्ष्मी म्युचुअल फण्डले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाइ म्युचुअल सार्वजनिक निश्कासन गर्ने भएको छ।
लक्ष्मी बैंकले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नती कोष’ का लागि चैत ९ गतेबाट आवेदन खुल्ला भइ छिटोमा चैत १३ गते र ढिलोमा चैत २३ गते बन्द हुनेछ।
प्रतिइकाई १० रुपैयाँ कायम फण्डमा सर्वसाधारणले न्यूनतम एक सय र अधिकतम ८० लाख इकाइका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीले निष्काशन गरेको कुल इकाइ मध्ये एक करोड २० लाख इकाइ लक्ष्मी बैंकलाई छुट्याइएको छ।
त्यसपछि बाँकी रहेको ६ करोड ८० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ। यस म्युचुअल फण्डको योजना अवधि १० बर्ष रहेको छ।
फण्ड बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्ने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ।
Facebook Comment