इजरायली वैज्ञानिकले भने- कोरोनाभाइरसको भ्याक्सिन बनायौं, केही समयमै प्रयोगमा आउँछ
काठमाडौं। महामारीको रुप लिइसकेको कोरोनाभाइरसले विश्वलाई नै आतंकित पारिसकेको छ । यसबाट ज्यान गुमाउनेको संख्या करिब ५ हजार भइसकेको छ । १ लाख ३५ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । विश्वका विभिन्न स्वास्थ्य संस्था र अनुसन्धान केन्द्रहरुले यसको भ्याक्सिन बनाउने प्रयास गरिरहेका छन् । केही भ्याक्सिन बनाएको दावी गरे पनि त्यसको परीक्षण हुन बाँकी छ । यही बीचमा इजरायलको एक अनुसन्धान संस्थाले पनि कोभिड–१९ विरुद्ध भ्याक्सिन बनाउने काममा सफलता पाएको दावी गरेको छ ।
इजरायलको इन्टिच्युट फर बायोलोजिकल रिसर्चका वैज्ञानिकहरुले यो खतरनाक भाइरसको तोड पत्ता लगाएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । वैज्ञानिकहरुका अनुसार खोप तयार भइसकेको छ र छिटै यसले आधिकारिकता पाउनेछ । इजरायलका रक्षा मन्त्री नेफटाली बेनिटले पनि आफ्ना वैज्ञानिकहरुले यो भाइरसमाथि शोध गरेर भाइरसको प्रकृति पहिचान गरेको जनाएका छन् । भाइरसको जैविक तन्त्रमा गहन अध्ययन गरेर यसको पहिचान गर्ने काममा सफलता हासिल भएको उनले बताए ।
संस्थानका ५० भन्दा धेरै अनुभवी वैज्ञानिक भाइरसको भ्याक्सिन बनाउने काममा खटेको बताइएको छ । अब यो भ्याक्सिनलाई चीनको औषधी नियामक निकाय र अमेरिकाको खाद्य एवं औषधी प्रशासनमा पठाइनेछ । त्यहाँबाट पनि यसको प्रभावकारिता प्रमाणीकरण भएपछि यलाई कोरोनाप्रभावित क्षेत्रमा पठाइनेछ । रिपोर्टअनुसार ३ हप्ता पहिले जापान, इटली लगायतका देशबाट कोरोनाभाइरसको नमूनाका ५ शिपमेन्ट इजरायल पुर्याइएको थियो । यही नमूनामा अध्ययन गरेर भ्याक्सिन तयार गरिएको हो ।
Facebook Comment