बैंकका कर्मचारीलाई संक्रामक रोग लागेमा अनिवार्य बिदा
काठमाडौं। बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई संक्रामक रोग लागेमा अनिवार्य विदा (फोर्स लिभ) मा बस्न निर्देशन दिन सक्ने भएका छन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि कर्मचारी सेवा विनियमावली जारी गर्दै कर्मचारीलाई पहिलो पटक संक्रामक रोग लागेको अवस्थामा फोर्स लिभको व्यवस्था गरेको हो। कोरोनाको त्रास बढेका बेला केन्द्रीय बैंकले जारी गरेको विनियमावलीमा यस्तो व्यवस्था गरिएको हो।
कुनै कर्मचारीलाई संक्रामक रोग लागी उपचार गराउनु परेमा उपचार अवधिभर काममा नआउन र विदामा बस्नको लागि बिदा स्वीकृत गर्ने अधिकारीले निर्देशन दिन सक्नेछन्।
उक्त निर्देशन पालना गर्नु सम्वन्धित कर्मचारीको कर्तव्य हुने र त्यस्तो कर्मचारीको बिरामी बिदा बाँकी नभएमा अन्य बिदा स्वीकृत गर्न वा वेतलबी बिदामा पठाउन सकिने नियमावलीमा व्यवस्था गरिएको छ।
यसअघि बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई वार्षिक रुपमा अनिवार्य बिदा ‘फोर्स लिभ’ को व्यवस्था थियो। केन्द्रीय बैंकले जारी गरेको नमुना नियमावलीमा कर्मचारीलाई ११ प्रकारका विदा दिनुपर्ने व्यवस्था गरिएको छ।
बैंकहरुले कर्मचारीलाई १८ दिनको एक दिनका दरले घर विदा, वर्षमा १२/१२ दिन विरामी बिदा र भैपरी आउने बिदा, महिला कर्मचारीलाई सेवा अवधिमा २ पटकसम्म चौध हप्ताको मातृत्व संरक्षण विदा र पुरुष कर्मचारीलाई श्रीमती प्रसुति भएको अवस्थामा सेवा अवधिमा दुई पटकसम्म प्रत्येक पटक पन्ध्र दिनका दरले प्रसुती स्याहार बिदा दिनुपर्नेछ।
यसैगरी १५ दिनसम्म किरिया बिदा, ५ वर्षभन्दा बढी काम गरेका कर्मचारीलाई नोकरी अवधि भरमा साठी दिनसम्म विशेष बिदा, सेवा अवधिमा एक पटक तीन दिनको विवाह बिदा, न्यूनतम सात दिनको अनिवार्य बिदा, १० वर्ष स्थायी सेवा पूरा गरेका कर्मचारीहरुलाई बढीमा १ वर्षसम्म असाधारण बिदा, तीन वर्ष स्थायी सेवा गरेका कर्मचारीलाई ५ वर्षसम्मको अध्ययन/तालीम विदा दिन सकिने व्यवस्था गरिएको छ।
श्रम ऐनको व्यवस्थाहरु समेटेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि नियमावली बनाएको हो। यसैका आधारमा बैंकहरुले नियमावली बनाएर लागू गर्नुपर्नेछ।
नियमावलीमा कर्मचारी नियुक्तीलगायत उनीहरुको सेवा शर्तबारे स्पष्ट पारिएको छ। यसैगरी बैंकहरुले करार र प्रशिक्षार्थीका रुपमा राख्ने कर्मचारीसम्बन्धी व्यवस्थामा पनि कडाइ गरिएको छ।
बैंक तथा वित्तीय संस्थाले जथाभावी करार र प्रशिक्षार्थी कर्मचारी राख्न नपाउने भन्दै यसका लागि पनि नियमावलीमा मापदण्ड तोकिएको छ।
यस्तै बैंकहरुले कर्मचारीलाई सामान्यतया हप्तामा २४ घण्टा भन्दा बढी अतिरिक्त समय काममा लगाउन नपाइने व्यवस्था गरेको छ।
अतिरिक्त समयमा काममा लगाउदा कर्मचारीलाई तलब भत्ताको डेढीको हिसावले अतिरिक्त समय भत्ता प्रदान गरिनेछ। राष्ट्रिय चाडपर्वको बिदाको दिनमा काम गरे वापत प्रत्येक कर्मचारीलाई निजले पाउने तलब भत्ताको दोब्बर भुक्तानी दिनुपर्ने नियमावलीमा उल्लेख छ।
Facebook Comment