भारतमा अनियन्त्रित बन्दै कोरोना, ८१ जना संक्रमित
नयाँ दिल्ली (एजेन्सी) । भारतमा कोरोनाभाइरस संक्रमण भएका एक व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मृत्यु हुने व्यक्ति दक्षिण भारतको कर्नाटक राज्यका एक ७६ वर्षीय पुरुष हुन् । उनी साउदी अरबमा एक महिना बसेर फेब्रुअरी २९ मा स्वदेश फर्किएका थिए ।
राज्यका स्वास्थ्यमन्त्रीका अनुसार ती व्यक्तिको सम्पर्कमा आएका सबै मानिस पत्ता लगाउने र तिनलाई क्वारन्टीनमा राख्ने प्रयास भइरहेको छ । भारतमा अहिलेसम्म ८१ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको छ ।
भारतमा ती वृद्धको मृत्यु मंगलवार भएको थियो । तर उनको परीक्षणको प्रतिवेदन बिहीवार सार्वजनिक गरियो । अधिकारीहरूका अनुसार साउदी अरबबाट फर्किँदा विमानस्थलमा उनलाई जाँचिएको थियो । तर त्यति बेला उनमा कोभिड–१९ का कुनै लक्षण देखिएको थिएन । तर एक हप्तापछि अर्थात् मार्च ५ मा उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा प¥यो । त्यसपछि उनलाई अस्पताल लागियो । भारतले कोरोनाभाइरस संक्रमणको प्रकोप नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरेको छ । बुधवार राति प्रकाशित सूचनाअनुसार शुक्रवारदेखि लागु हुनेगरी अधिकांश प्रवेशाज्ञा स्थगित गरिएको छ । एक महिनापछि यो निर्णयको समीक्षा गरिनेछ । भारत प्रवेश गर्न पाउने मानिसले पनि १४ दिन क्वारन्टीनमा बस्नुपर्नेछ ।
सरकारले अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ । कोरोनाभाइरस फैलिन नदिन राजधानी दिल्लीमा मार्च महिनाको अन्त्यसम्म सबै शैक्षिक संस्था र चलचित्रघर बन्द हुने घोषणा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेका छन् । प्रकोप नियन्त्रण गर्न विभिन्न सरकारी निकायहरूले समन्वय गरिरहेका छन् । बिहीवार आयोजित पत्रकार सम्मेलनमा आत्तिनुपर्ने स्थिति नभएको अधिकारीहरूले बताएका छन् ।
यसैबीच समाचार एजेन्सी एएफपीका अनुसार कोरोनाभाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठान “कम्तिमा” आगामी दुई हप्ता बन्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताएका छ । कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा ल्याउन यस्तो कदम चाल्नुपरेको बताइएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाभाइरसको प्रसारलाई निस्तेज पार्न कडा कदम घोषणा गरेका छन् । उनको घोषणामा सोमबारदेखि अर्को सूचना नभएसम्म सबै विद्यालय र विश्वविद्यालय बन्द गर्ने उल्लेख थियो ।
यस्तै एएफपीका अनुसार अष्ट्रेलियाका गृहमन्त्री पीटर डुटोनलाई पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ । उनलाई शुक्रबार बिहान ज्वरोका साथै घाँटीमा समस्या आएपछि जाँच गराउनु भएको र कोरोना भाइरस पोजेटिभ देखिएको सिड्नीबाट प्राप्त भएको समाचारमा जनाइएको छ । अप्ट्रेलियाली सरकारका एकजना प्रभावशाली सदस्यका साथै यहाँको अध्यागमनसम्बन्धी कानूनका एक मस्यौदाकार रहनुभएका गृहमन्त्री अस्पतालमा क्वारेन्टाइनमा प्रवेश गर्नुभएको यहाँका राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
यसैबीच शुक्रबार बिहान प्राप्त भएको अर्काे एक समाचारमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण देखा परेको छ । बिहीबार साँझ गरिएको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस सकारात्मक देखिएको प्रधानामन्त्री कार्यालयले शुक्रबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । बिहीबार एक सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किएकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको र परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको बताइएको छ ।
उक्त विज्ञप्तिमा यहाँका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको र श्रीमती सोफी ग्रेगोइयर ट्रूडोको स्वास्थ्य परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिसकिएको जनाइएको छ । क्यानाडामा पछि पछिल्ला दिनमा यो सङ्क्रमणको असर देखिएको छ । यहाँका विभिन्न छ ओटा राज्यमा १५० जनामा यो सङ्क्रमण देखिएको छ ।
Facebook Comment