चालु आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने

डिसी नेपाल
३० फागुन २०७६ २२:४५

धनुषा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले यही आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने बताएका छन्। नेपाल रेल्वेको निरीक्षण गर्न शुक्रबार जनकपुरधाम आउनुभएका मन्त्री नेम्वाङले जसरी पनि आगामी तीन–चार महिनाभित्र रेल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री नेवाङले रेलको चालकदेखि करिब तीन सय प्राविधिकको दरबन्दी स्वीकृत भइसकेको र अब नीतिगत कुराहरु गर्न बाँकी रहेको बताए। जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक वर्षदेखि रेल गुड्ने मन्त्री नेम्वाङले दाबी गरे। उन भने, “रेलमार्ग तयार भइसकेकाले विदेशबाट दक्ष कर्मचारी मगाएर पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिबाससम्म र पछि निजगढसम्म रेल गुड्नेछ ।” मन्त्री नेम्वाङका अनुसार रेल गुडाउन पाँच–सातजनाको प्राविधिक टोलीमात्र भारतबाट ल्याइनेछ । उनले यहाँ दक्ष प्राविधिक तयार भइसकेपछि भारतीय टोलीलाई फिर्ता गरिने बताए।

यात्रुवाहक एक रेल तयारी अवस्थामा रहेको र अर्को बनिरहेको जानकारी गराउँदै मन्त्री नेम्वाङले आवश्यकताका आधारमा मालवाहक रेलसमेत सञ्चालनका लागि पहल हुने जानकारी दिए। नेपाल रेल्वेले गरेको कर्मचारी विज्ञापनको मापदण्डअनुसार एकजना पनि दक्ष जनशक्ति नेपालमा उपलब्ध नहुने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री नेम्वाङले नेपालमा उपलब्ध नभए विदेशबाट करारमा नियुक्त गर्ने बताए।

मन्त्री नेम्वाङसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्रलगायतका समेत निरीक्षण टोलीमा सहभागी थिए। टोलीले रेल्वेको अवलोकनपछि जनकपुरधाम–जटहीसम्मको ६ लेन सडकको समेत निरीक्षण गरेको थियो ।

राजधानी नामकरणका लागि मतदान हुने

यसैगरी प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि चैत ४ गते मतदान हुने भएको छ । तीन महिनापछि आज बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधाननी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते ८ बजे बिहान मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ ।

बैठकमा अध्ययन विशेष समितिले मतदानका लागि तयार पारेको प्रतिवेदन राजपाका प्रमुख सचेतक परमेश्वर साहले प्रस्तुत गरेका थिए। समितिको संयोजक सभामुख सरोजकुमार यादव रहे पनि उनकै निर्देशनमा सचेतक साहले सो प्रतिवेदन पेश गरेका थिए।

समितिमा राजधानीका लागि जनकपुरधाम र वीरगञ्जसहित तीन प्रस्ताव र नामकरणका लागि चार प्रस्तावमा निर्वाचन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि प्रमुख सचेक सम्मिलित बैठकले सभाका सचिव निर्वाचन अधिकृत रहने गरी निर्वाचनको कार्यविधि र आचारसंहिता तयार पारेर सभामुख यादवलाई बुझाइसकेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *