मेरा खुट्टा परालका होइनन्ः नेता कोइराला
गोरखा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन् । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न सकेको छैन भने ।
केन्द्रीय सदस्य कोइरालाले भने, “संसद्मा प्रतिपक्षको आवाज नै सुनिएको छैन । सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएको छ । सरकार त मौन हुनु स्वाभाविक नै हो । संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो तर त्यो पनि सुनिएन । लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो । ”
केन्द्रीय समितिको बैठक नबस्दा आफूहरुले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै नपाएको र काँग्रेस अहिले भागबण्डामा अल्झिएर बसेको नेता कोइरालाले बताए । “पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ।” उनले भने ।
तपाईँ अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता कोइरालाले भने, “मेरो खुट्टा परालको होइन भन्ने बुझ्नुपर्छ, अहिले स्पष्ट कसरी भनुँ, कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु ।”
Facebook Comment