भिसाको म्याद सकिए पनि बन्द खुलेपछि कतार प्रवेश गर्न पाइने

दोहा । कतारले आवासीय भिसाको म्याद सकिए पनि कतार प्रवेश गर्न दिने भएको छ ।
दोहामा आयोजित सामुदायका नेताहरूसँगको बैठकमा प्रशासनिक श्रम तथा सामाजिक मामिला मन्त्रालयका अधिकारीहरूले कतार आइडीको म्याद सकिसकेका वा कतार बाहिर ६ महिना भन्दा बढी बसेका आप्रावासी कामदारहरुलाई प्रतिबन्ध हटाइएपछि कतार प्रवेश गर्न दिइने निणर्य गरेका हुन् ।
कतारको यो निणर्यले बिदामा स्वदेश गएर फर्कन नपाएका आप्रावासीह कामदारहरूलाई राहत मिल्ने भएको छ । कतारले प्रवेशमा रोक लगाएपछि बिदामा स्वदेश गएर भिसा सकिन लागेका थुप्रै नेपाली कामदार अन्यौलमा परेका थिए ।
यसअघि कोरोना संक्रमणको प्रकोपलाई फैलन नदिन भन्दै कतारले १४ देशका नागरिकलाई प्रवेश निषेध गरेको थियो। महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालसहित, भारत, चीन, इजिप्ट, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई अस्थायी रूपमा प्रवेशमा रोक लगाएको थियो ।
हालसम्म कतारमा कोरोनाबाट ३ सय ३७ जना संक्रमित भएका छन् । भाइरस सरकारको नियन्त्रणमै रहेकाले नअत्तालिन कतार सरकारले आग्रह गरेको छ ।
Facebook Comment