ग्यास आयातको परिमाण बढाइयो, एक सातामा सहज हुने
काठमाडौं । बजारमा इन्धनको अभाव नहोस् भनेर सरकारले नेपाल आयल निगमलाई मागअनुसार नै पेट्रोलियम पदार्थको आयात गर्न सहजीकरण गरिरहेको छ ।
सरकारले एलपी ग्यासको आपूर्तिमा कुनै समस्या नहुने दोहो¥याइरहँदा अनावश्यक मौज्दात राख्ने उपभोक्ताको चाहनाले ग्यासको उपलब्धतामा केही समस्या देखिएको छ । पछिल्ला केही दिनयता निगमले बजारको बढ्दो मागलाई ध्यानमा राखी ग्यास आयातमा भारी वृद्धि गरेको छ । ग्यासको अभाव हुन नदिन निगमले आयातको परिमाण वृद्धि गरी ४५ हजार मेट्रिक टन पु¥याएको छ । अहिले एलपी ग्यासको औषत मासिक खपत ३८ हजार मेट्रिक टन रहेको छ ।
राजधानी काठमाडौँमा बढी गुणस्तरीय मानिएको नेपाल ग्यासमा भने बढी दबाब परेको छ । सहज रुपमा पाइने भएकाले पनि नेपाल ग्यासमा उपभोक्ताको चाप देखिएको हो । उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै सङ्कट व्यहोर्नुपर्ने त्रासका कारण दुईभन्दा बढी सिलिण्डर भण्डारण गरेका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारी कोरोना भाइरसका कारण ग्यासको अभाव हुनसक्ने आशङ्कामा सर्वसाधारणले घरघरमा भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको बताउँछन् ।
“ग्यास आपूर्तिमा कुनै समस्या छैन, निरन्तर नै ग्यास आइरहेको छ”, उनि भन्छन्, “एक सातामा बजारमा देखिएको हाहाकार समाप्त हुन्छ ।” नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको छ । अहिले सोही परिमाणमा ग्यासको आयात भइरहेको छ । फागु पूर्णिमाका कारण नेपाल र भारतका भन्सार लगातार पाँच दिन बन्द हुँदा ग्यास बुलेट भन्सार पास हुन नसक्दा केही अभावजस्तो देखिएको अध्ययक्ष भण्डारीको भनाइ छ । “होली पर्वको आसपासमा नेपालमा तीन दिन सार्वजनिक बिदा र भारतमा दुई दिन सार्वजनिक बिदा हुँदा भन्सार जाँचपास हुन नसक्दा समस्या भएको हो”, उनले भने । नेपालमा हाल विभिन्न ५८ ग्यास उद्योग छन् ।
ग्यासको आयात बढाएका छौँः निगम
नेपाल आयल निगमले बजारको माग नुसार नै पर्याप्त ग्यासको आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने जनाएको छ । अनावश्यक ग्यास सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असन्तुलन हुन पुगेको निगमको भनाइ छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले अभाव हुन्छ भन्ने त्रासका कारण सर्वसाधारणले ग्यास भरेको सिलिण्डरको मौज्दात राख्न खोज्दा केही समस्या देखिएको बताए ।
उनले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासका आयात बढाइएको बताउनुभयो । “हामीले उद्योगीलाई भनेका छौँ, माग अनुसारको ग्यास ल्याउनुहोस्”, उनले भने, “उद्योगीको माग अनुसार ‘पर्चेज डेलिभरी अर्डर’ निगमले दिइरहेको छ ।” पछिल्ला चार दिनमा विराटनगर भन्सारबाट विभिन्न कम्पनीका ६६ बुलेट नेपाल भित्रिएका छन् । यस्तै झापाको काँकडभिट्टा भन्सारबाट पनि २२ बुलेट नेपाल छिरेका छन् । यस्तै फागुन २९ र ३० गते वीरगन्ज भन्सारबाट २१० बुलेट ग्यास बोकेर नेपाल आएका निगमले जनाएको छ । दुई दिनमा काठमाडौँ उपत्यकामा बजार रहेका कम्पनीका ९१ बुलेट र उपत्यका बाहिरका विभिन्न कम्पनीको ११९ बुलेट नेपाल आएका छन् ।
नयाँ सिलिण्डर नथुपार्न निगमको आग्रह
अभाव हुने त्रासका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न सर्वसाधारणमा आग्रह गरेकोे छ । निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको हो । एलपी ग्यास खरिद गर्दा नयाँ सिलिण्डर खरिद नगरी आफूसँग भएको खाली सिलिण्डर फिर्ता गरी ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ ।
Facebook Comment