प्रधानमन्त्री ओली आज सार्क राष्ट्रको कोरोनाविरुद्धको सम्मेलनमा सहभागी हुने

डिसी नेपाल
२ चैत २०७६ ७:१२

काठमाडौं । आज हुने कोरोनाबारे सार्क उच्चस्तरीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का राष्ट्र र सरकार प्रमुखबीच आइतबार (आज) साँझ नेपाली समयअनुसार सवा पाँच बजे भिडिओ कन्फरेन्स हुने भएको छ।

उक्त भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन्। प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय सिंहदरबारबाट ओली उक्त भिडिओ कन्फरेन्समा सहभागी हुनेछन्।

भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा अहिले कोरोना भाइरसले पारेको प्रभाव लगायतका विषयमा कुरा गर्नेछन्।

परराष्ट्र सल्लाहकार भट्टराईले दक्षिण एसियाली मुलुकबीच कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउने भारतको प्रस्ताव सकरात्मक भएको बताए।

‘सार्क अध्यक्ष राष्ट्रका हैसियतमा प्रधानमन्त्री ओलीले शुक्रबार नै उनको प्रस्तावको स्वागत गरेका छन् । यसले कुनै मुद्दामा दक्षिण एसियाका मुलुकहरू मिलेर जानुपर्छ भन्ने सन्देश दिएको छ,’ भट्टराईले भने।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबारमात्र अस्पतालबाट निवास फर्किएका हुन्।

भट्टराईका अनुसार प्रधानमन्त्री ओलीलाई उक्त भिडियो कन्फरेन्समा सहभागी हुन चिकित्सकहरूले नै अनुमति दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *