ओलीबाट निरन्तर धोका भएको बामदेवको आरोप

डिसी नेपाल
२ चैत २०७६ ८:५३

काठमाडौं। भर्खरै पुनर्जीवन पाएर अस्पतालबाट फर्किएका प्रधानमन्त्री ओलीप्रति नेकपा उपाध्यक्ष बामदेव गौतम आक्रामक रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री ओलीले अस्पतालबाट निस्किएलगत्तै नेकपा एक नेतालाई उपाध्यक्ष बामदेव गौतमको धारणा बुझ्न भनेका थिए ।

ती नेतासँग गौतमले ओलीप्रति आफूमा भएको आक्रोश सबै पोखेको नेकपा स्रोतले दावी गरेको छ। ‘यति धेरै अपमान मैले जीवनमा पाएको थिइन, जति मलाइ केपी ओलीले गरेका छन्’ उपाध्यक्ष गौतमले ती नेतासँग भनेको भनाइ उद्धृत गर्दै नेकपा स्रोत भन्छ ‘ममाथि ओलीले व्यक्तिगत आक्रमण गरेका छन्। उनी कृतघ्न रहेछन्।’

२०७० को दोस्रो संविधानसभाको निर्वाचनपछि एमाले संसदीय दलको नेताको निर्वाचनमा आफूले ओलीलाई सघाएर नजिताएको भए नेपालको राजनीतिमा ओलीको उदय नहुने दावी गर्दै गौतमले ओलीलाई आफूले सघाएको बदलामा धोका पाएको भन्दै आक्रोश पोखेका थिए।

यसअघि एमालेभित्र विशेष परिस्थितिमा सघाउँदै आएका छन् । संसदीय दलको नेतामा मात्र नभइ एमालेको नवौं महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई निर्वाचित गराउने काममा गौतमकै महत्वपूर्ण भूमिका थियो।

त्यतिबेला अध्यक्ष पदमा माधव नेपाल र केपी ओलीबीच प्रतिस्पर्धा थियो। त्यतिबेला अध्यक्ष रहेका झलनाथ खनालले कसैलाई पनि समर्थन नगरी मौन बसे तर बामदेव गौतमले खुलेरै केपी ओलीको पक्षमा माहोल बनाए। जसको फलस्वरुप उनी अध्यक्ष भएका थिए।

ओलीले आफूलाई पटक–पटक आश्वासन दिने तर अन्तिम समयमा धोका दिने गरेको गौतमको आरोप थियो । ‘मैले पटक–पटक सघाउँदै आएँ, तर उनले आश्वासन दिँदै अपमान गर्दै आए’ गौतमले भने। आफूले प्रतिनिधिसभाको निर्वाचनमा हारेपछि आफूलाई प्रतिनिधिसभामा ल्याउने विषयमा समेत ओलीले आश्वासन दिएको तर प्रयास नगरेको गौतमको आरोप थियो ।

‘उनको यस्तो चाहना रहेनछ, मैले नै वातावरण बनाएँ’ गौतमले भने ‘एक सजना संसदले पद छोड्न तयार भइसकेर राजीनामा दिन ठिक्क परेका बेला उनलाई रोक्ने पनि ओली नै हुन्।’

आफूलाई राष्ट्रियसभामा जाने प्रस्ताव गर्ने पनि ओली नै भएको तर अहिले उनै ओलीले आफूलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव अस्वीकार गरेको पनि गौतमको आरोप थियो। सचिवालयको बैठकमा म मृगौला प्रत्यारोपण गर्छु, म ठिक भएर आउँछु र सरकार चलाउँछु भनेका ओलीले त्यहाँ पनि आफूलाई व्यङ्ग्य गरेको गौतमले बताए।’

केही साथीहरु कतिबेला मर्छ र सरकारमा जान्छु भनेर समेत बसेका छन् भन्न पनि बाँकी राखेनन्’ गौतमले भने। आफूलाई आश्वासन दिने तर बद्नाम गराउने भन्दै गौतम ओलीप्रति आक्रोशित भएको स्रोत बताउँछ।

पछिल्लो समय गौतमलाई भेट्न पुग्ने सबै जसो नेता कार्यकर्तासँग गौतमले यस्तै गुनासो गर्ने गरेका छन्। गौतम निकट मानिने नेकपा केन्द्रीय सदस्य बलराम बाँस्कोटा भने गौतमले गुनासो गरेको भन्दा पनि पार्टी सचिवालय बैठकले एकमतले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने गौतमको चाहना रहेको बताउँछन्।

‘कोहीसँग गुनासो गर्नुपर्ने अवस्था छैन। सचिवालय बैठकले एकमतले गरेको निर्णय कार्यान्वयन हुनुपर्छ,’ केन्द्रीय सदस्य बाँस्कोटाले डिसी नेपालसँग भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले गरेका प्रतिवद्धता कार्यान्वयन हुँदा प्रधानमन्त्रीलाई नै फाइदा हुने हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *