लापरवाही गरेर कोरोनाभाइरस फैलाएमा हत्याको अभियोगमा २१ वर्ष जेल
काठमाडौं। विश्वभर कोरोनाभाइरसको महामारी फैलिइरहेका बेला यसको संक्रमण रोक्न विभिन्न उपायहरु अपनाउन थालिएको छ । यसको संक्रमण बढ्न नदिने अत्याधिक प्रभावित देश इटलीले भने निकै कडा कानुन बनाएको छ । यहाँ लापरवाही गरेर कोरोनाभाइरस फैलाएमा हत्याको अभियोगमा २१ वर्षसम्म जेल सजाय हुने कानुन बनाइएको छ ।
बेलायती मिडिया मेट्रोले इटलीको मिडिया इल सोल २४ ओरेलाई उद्धृत गर्दै लेखेअनुसार यहाँ १४०० जनाभन्दा धेरैको ज्यान गइसकेको छ । नयाँ कानुनअनुसार यदि कोही कोरोनाभाइरस संक्रमणको आशंका गरिएको अवस्थामा सेल्फ आइसोलेसनमा नबसे उसलाई ६ महिनादेखि ३ वर्षसम्म जेल सजाय हुनेछ भने कोरोना संक्रमित पुष्टि भइसकेको व्यक्तिले आफ्नो लापरवाहीका कारण अरु कसैलाई संक्रमित गरेको पाइएमा उसलाई हत्याको अभियोगमा २१ वर्षसम्म जेल सजायको व्यवस्था गरिएको छ ।
इटलीमा २१ हजारभन्दा धेरै संक्रमित छन् र १४ सयभन्दा धेरैको ज्यान गइसकेको छ । अहिले इटली चीनपछि कोरोनाभाइरसको नयाँ इपिसेन्टर बनेको छ । प्रधानमन्त्री जियुसेप्पे कोन्टेले देशका ५ ठूला क्षेत्रमा लकडाउन गरेका छन् । इटलीका लोम्बार्डी, मोडेना, पर्मा, पियासेन्जा, रेजियो एमिलिया, रिमिनी, पेसारो, अर्बिनो, एलेसान्ड्रिया, अस्ती, नोभारा, वर्बानो कुसियो ओसाला, भर्सिली, पादुआ, ट्रभिसो र भेनिस शहरमा करिब १ करोड ६० लाख मानिसहरु घरमै लकडाउन भएका छन् ।
Facebook Comment