स्पेनका प्रधानमन्त्रीकी श्रीमती र दुईजना मन्त्रीहरु कोरोना संक्रमित

डिसी नेपाल
२ चैत २०७६ १६:५३

मड्रिड। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजलाई नोवेल कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । बेगोनामा कोरोना पोजेटिभ देखिएको स्पेनका स्वास्थ्य अधिकारीहरुको हवाला दिँदै सीएनएनले जनाएको छ।

साथै मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा पनि कोरोना संक्रमण रहेको अधिकारीहरुले जनाएका छन्। चार करोड ६७ लाख जनसङ्ख्या भएको स्पेनमा ६,३०० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

शनिवार राति प्रधानमन्त्री पेद्रो सान्चेजी पत्नी बेगोना गोमेजलाई पनि सङ्क्रमण भएको पुष्टि भयो। सरकारका अनुसार दुवै जना मड्रडस्थित प्रधानमन्त्रीको निवासमा बसिरहेका छन् र उनीहरू अवस्था ठिकै छ। शुक्रवार साँझ थप १,८०० जनामा सङ्क्रमण भएको पुष्टि भयो। तीमध्ये अधिकांश मानिस राजधानीमा छन्।

सङ्कटकाल घोषणा भएकाले सरकारले नागरिकहरूलाई आवश्यक उपभोग्य सामग्री र औषधि किन्न वा काममा जानबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ।

सबै सङ्ग्रहालय, सांस्कृतिक केन्द्र, खेलकुदस्थल बन्द हुनेछन्। रेस्टुराँ र क्याफे होम डेलिभरी मात्र गर्न पाउनेछन्। बैंक र इन्धन भर्ने स्टेशनहरू खुला रहनेछन्। देशभरि विद्यालयहरू बन्द भइसकेका छन्।
प्रधानमन्त्रीले सबैलाई आफ्ना सैद्धान्तिक मतभिन्नतालाई बिर्सेर एकजुट हुन र नागरिकलाई प्राथमिकता दिन आह्वान गरेका छन्। सङ्कटकाल दुई हप्ताका लागि लगाइएको हो। आवश्यक परे संसद्को स्वीकृतिमा लम्बिन सक्छ।

स्पेनमा सन् १९७५ मा राजनीतिक परिवर्तन सुरु भएयता दोस्रो पटक सङ्कटकाल लगाइएको हो। पहिलो पटक सन् २०१० मा हवाई सेवामा कार्यरत एअर ट्राफिक कन्ट्रोलरहरूले हडताल गरेको बेला लगाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *