विषाक्त मदिरा सेवनबाट मृत्यु भएका व्यक्तिका परिवारलाई किरिया खर्च

डिसी नेपाल
२ चैत २०७६ २२:३२

धनुषा । धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई धनुषा निर्वाचन क्षेत्र नं ४ का सांसद तथा पूर्वमन्त्री रघुवीर महासेठले क्रिया खर्च उपलब्ध गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री महासेठले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ रमदैया भवाडीमा विषाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएका १४ जनाको घर परिवारलाई किरिया खर्चबापत रकम सहयोग गरेका हुन् । पूर्वमन्त्री महासेठले मृतकहरुको घरमै पुगेर आफ्नो व्यक्तिगततर्फबाट मृतकको परिवारलाई किरिया खर्चस्वरुप जनही रु २० हजारका दरले पीडित परिवारजनलाई हस्तान्तरण गरेका हुन् ।

किरिया खर्च उपलब्ध गराउँदै पूर्वमन्त्री महासेठले एउटै गाउँ टोलमा यति ठूलो सङ्ख्यामा मानवीय क्षति हुनु अत्यन्तै दुःखद् घटना भएको बताए । उनले यस घटनाबाट सबैले पाठ सिक्नुपर्ने बताउँदै अब उपरान्त गाउँका अन्य व्यक्तिलाई मदिरा सेवन नगर्न र अवैध मदिरा उत्पादक एवं भट्टीमाथि कडा निगरानी गर्न स्थानीयसँग आग्रह गरे । उनले मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँगसमेत आग्रह गर्ने बताए ।

होलीमा घरेलु मदिरा सेवन गरेर मृत्यु भएकाप्रति शोक व्यक्त गर्दै उनले मदिरा सेवन गरेका अन्य व्यक्तिहरुलाई समेत आफैँले अस्पतालमा गएर जाँच गराउन आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *