‘प्रयोग गर्न नजाने मास्कले संक्रमण रोक्नु भन्दा बढी फैलाउँछ’

डिसी नेपाल
३ चैत २०७६ १३:४०

काठमाडौं। चीनको वुहानबाट सुरु भएर विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) कारण सोमबारसम्म ६ हजार ५ सय २२ जनाको मृत्यु भइसकेको छ।

विश्वका १५७ मुलुकमा फैलिएको संक्रमण हालसम्म नेपालमा देखा परेको छैन। तर जनमानसमा भने कोरोनाको त्रास बढ्दो छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइसरबाट बच्ने विभिन्न उपाय सुझाएको छ। त्यो मध्ये मास्क पनि एक उपाय हो।

तर अहिले नेपालमा मास्कको चरम अभाव भएको छ। कोरोना श्वास प्रश्वासबाट सर्ने भएकाले त्यसबाट बच्न मास्कको प्रयोग उचित हुने चिकित्सकहरुले बताएका छन्।

तर नेपाली बजारमा यतिबेला मास्कको चर्को अभाव छ। विगत केही दिनदेखि प्रहरीले कालोबजारी गर्न लुकाइएका मास्क बदामद गर्न थालेपनि बजारमा भने मास्कको अभाव कायमै छ।

नेपालमा कोरोना भाइरस देखा परेको छैन। तर, सरकारले कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी भीडभाडमा नजान, सार्वजनिक यातायात प्रयोग गर्दा मास्कको प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन्।

तर सर्वसुलभ रुपमा मास्क उपलब्ध नभएपछि सर्वसधारणमा त्रास बढेको छ। सार्वजनिक सवारी साधन, भिडभाड, कार्यालय जस्ता स्थानमा सकेसम्म नजान सरकारले आग्रह गरेको छ। तर काम विशेषले त्यस्ता ठाउँमा जाँदा मास्क नपाउँदा सर्वसाधारण त्रसित बनेका छन्।

सर्वसाधारणले मास्क नपाएको गुनासो गरिहँदा जनस्वास्थ्यविद डाक्टर रविन्द्र समीरका अनुसार अहिले बजारमा रहेका सर्जिकल मास्क प्रयोग गर्न नजान्दा यसबाट फाइदा भन्दा बढी हानि हुन्छ।

डाक्टर समीरका अनुसार सर्जिकल मास्कको प्रयोगले कोरोना संक्रमण रोक्न सक्दैन। ‘अहिले हामीले प्रयोग गरिरहेका सर्जिकल मास्कले कोरोना भाइरस संक्रमणबाट जोगाउन सक्दैन,’ डाक्टर समीरले डिसी नेपालसँग भने, ‘त्यसमाथि यसको प्रयोग गर्न नजान्दा यसबाट फाइदा भन्दा हानि बढी हुन्छ।’

कसरी लगाउने मास्क?

जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र समीरका अनुसार मास्क लगाउँदा चारैटिरबाट मास्कलाई कसिलो बनाउनुपर्छ। मास्क लगाउँदा कतैबाट पनि हावा छिर्नु हुँदैन। ‘मास्क लगाउँदा चारैतिर कसिलो बनाउनुपर्छ,’ उनले भने, ‘मास्क लगाउँदा त्यसबाट हावा, धुलोको कण नछिर्ने गरी प्रयोग गर्नुपर्छ।’

मास्क लगाएको समयमा सामान्यता अन्य समयभन्दा धेरै पटक अनुहारमा हात पुग्ने भएकाले प्रयोग गरेको मास्क घरभित्र पस्दा बाहिरै निकाल्नु उचित हुने उनले बताए।

उनले एउटा सर्जिकल मास्कको ४/५ घण्टा भन्दा बढी प्रयोग गर्न नहुने भएकाले लामो समयसम्म एउटै मास्क लगाउँदा मनोवैज्ञानिक भन्दा अन्य फाइदा नहुने बताए।

कपडाको मास्क झन् खतरनाक
डाक्टर समीरका अनुसार बजारमा सर्जिकल मास्कको अभाव भएपछि कपडाको मास्क प्रयोग स्वास्थ्यका लागि हानिकार हो। कपडाको रुमाल, मखलरजस्ता चीजलाई मास्कको रुपमा प्रयोग गर्दा कोराना भाइरसका लागि बढी खतरा हुने डाक्टर समीरले बताए।

कपडाको मास्कमा कोरोना भाइरस लामो समयसम्म जीवित रहने र मास्क धुँदा झन सक्रिय हुने भएकाले कपडाको मास्क धोएर पुन प्रयोग गर्न नहुने उनको भनाइ छ।

उनले कपडाको मास्क भन्दा टिस्यू पेपर प्रयोग गरेर सुरक्षित ठाँउमा फाल्नु उचित हुने बताए। कोरोना भाइरस श्वासप्रश्वासबाट मात्र नभइ प्रयोग गरेको कपडा, कपाल, मोबाइल फोनजस्ता सामाग्रीबाट सर्ने भएकाले त्यसतर्फ सचेत रहन डाक्टर समीले आग्रह गरेका छन्।

कोरोना भाइरसबाट बच्न के गर्ने?

कोरोना संक्रमणबाट बच्न दैनिक आफूले प्रयोग गरेका कपडा एकै ठाउँमा राख्ने र सावुन पानीले राम्रोसँग सफा गर्नु उचित हुने डाक्टर समीरले बताए।  उनले कोरोना भाइरसको संक्रमण नेपालमा नदेखिएकोले धेरै आत्तिनु पर्ने अवस्था नरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *