‘अमेरिकालाई मात्र’ कोरोनाभाइरसको खोप दिन जर्मन कम्पनीलाई ट्रम्पले प्रलोभन दिएको दावी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरुले जर्मनीको एक फर्मास्युटिकल कम्पनीलाई कोरोनाभाइरसको भ्याक्सिन अमेरिकालाई मात्र दिनको लागि ठूलो रकमको प्रलोभन दिएको दावी गरिएको छ । राष्ट्रपति ट्रम्पले जर्मनीको अग्रणी फर्मास्युटिकल कम्पनी क्युरभ्याकलाई लोभ्याउने प्रयास गरेको स्रोतको हवाला दिँदै बेलायती मिडिया द सनले लेखेको छ ।
‘उनी औषधीको सर्वाधिकार अमेरिकाको लागि मात्र सुरक्षित गर्न प्रयास गरिरहेका छन्’ स्रोतले भन्यो । तर, जर्मनीका स्वास्थ्य अधिकारीहरु भने कम्पनीसँगै आफ्नै डील गर्नको लागि अगाडि आएको बताइएको छ । एक प्रवक्ताले भने ‘अमेरिकाको संघीय सरकार जर्मनी र युरोपमा विकास गरिने नोभेल कोरोनाभाइरसविरुद्धका भ्याक्सिन र एन्टिभाइरल एजेन्टप्रति निकै उत्सुक छ । यो प्रयोजनको लागि ऊ क्युरभ्याक कम्पनीसँग गहन विनिमयको प्रक्रियामा छ ।’
गएराती जर्मन अधिकारीहरुले ट्रम्पको प्रस्ताव टेबलबाट हटेको र क्युरभ्याक पूरै विश्वको लागि भ्याक्सिन विकसित गर्नको लागि सहमत भएको बताएका छन् । क्युरभ्याकले गत हप्ता आफूले विकास गरेकामध्ये सर्वोत्कृष्ट सम्भावित २ भ्याक्सिनलाई क्लिनिकल ट्रायलको लागि छनोट गरेको बताएको थियो ।
यस विषयमा ह्वाइट हाउसले केही बोलेको छैन । अमेरिकामा कोरोनाभाइरका कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ । ३ हजार २४४ मा संक्रमण पुष्टि भएको छ । सिएनएनको तथ्यांकअनुसार मार्च १५ सम्म अमेरिकाका ४९ राज्यमा संक्रमण पुष्टि भइसकेको छ । ४० जनाले वाशिङटन राज्यमा मात्र ज्यान गुमाएका छन् । क्यालिफोर्नियामा ५, फ्लोरिडामा ४, न्यूयोर्क र न्यूजर्सीमा २–२ जनाले ज्यान गुमाइसकेका छन् ।
Facebook Comment