सम्पदाहरु पुनःनिर्माण गर्दा खतराको सूचिमा पर्ने गरी नगर्न सुझाव

डिसी नेपाल
३ चैत २०७६ १९:३८

काठमाडौं । खतराको सूचिमा पर्ने सम्भावनालाई ध्यान दिएर सम्पदाहरुको पुननिर्माण गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
युनेस्कोले सम्पदाहरुको पुननिर्माण पुरानै शैलिमा नभएको बताइरहेका बेला विज्ञहरुले खतराको सूचिमा पर्नेगरी पुननिर्माण गर्न नहुनेमा जोड दिएका हुन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विश्व सम्पदा सुचिमा परेका पुरातात्विक सम्पदाहरुको अध्ययन गर्न गठित उपसमितिको बैठकमा वरिष्ठ संरक्षणविद् प्राध्यापक सुदर्शनराज तिवारीले धेरैजसो सम्पदाको पुननिर्माण पुरातात्विक मापदण्डको सिद्धान्त अनुरुप नभएपनि खतराको सूचिमा पर्नेगरी काम गर्न नहुने बताए । उनले तीन चार वर्ष लगाएर गरिएको काममा सिद्धान्त अनुरुप गर्न नसकेपनि विश्व सम्पदाको सूचिमा परेका सम्पदाहरु खतराको सूचिमा पर्न नहुने बताए ।

संस्कृतिविद् डा. प्रेम खत्रीले सम्पदाको संरक्षण कसरी गर्ने भन्ने विषयमा धेरैपटक छलफल भएको तर त्यसलाई कार्यान्वयनमा लैजान नसक्नु नै मुख्य समस्या रहेको बताए। उनले राजनीतिक दलहरुले समेत आफ्नो घोषणा पत्रमा सम्पदाको संरक्षण गर्ने विषय समावेस गर्नुपर्नेमा जोड दिए । त्यस्तै सम्पदा रोजगारीसँग समेत जोडिएकाले यसको पुरातत्वलाई ध्यान दिएर संरक्षण गरिनुपर्ने उनले बताए ।

पुरातत्वविद् प्रकाश दर्नालले विश्व सम्पदा सूचिमा परेका सम्पदाहरु मात्र नभएर एक सय वर्ष नाघेका घर पाटीहरुलाई पुरानै शैलिमा जिर्णोद्धार गर्नुपर्ने बताए । उनले पुराना सार्वजनिक सम्पदाहरुको पुननिर्माणमा फलामे रड, सिमेन्टको प्रयोग गरिएको भन्दै सम्पदाहरुलाई पुरातात्विक मापदण्ड अनुसार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले आधुनिक शैलिबाट निर्माण गर्ने प्रचलन अनुसार पुराना घर पाटीहरु सबै खतम भएर गएको समेत बताए ।

बैठकमा विज्ञहरुले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने विषयमा अझैपनि केही नीतिगत समस्या रहेको बताएका थिए । जसका कारण सम्पदाहरुको पुननिर्माणमा पुरातात्विक मापदण्ड पुरा हुन नसकेको र यसले सम्पदाहरुलाई खतराको सूचिमा पार्न सक्ने सम्भावना रहेको उनिहरुको भनाई थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *