युरोपमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो
लन्डन (एजेन्सी) । कोरोनाभाइरस महामारीबाट नराम्ररी प्रभावित युरोपका तीनवटा देशबाट प्राप्त तथ्यांकमा उक्त भाइरसका कारण त्यहाँ एकै दिनमा मृत्यु हुने मानिसको संख्या अहिलेसम्मकै उच्च भएको देखिएको छ । बेलायतमा पनि एकै दिनमा ज्यान गुमाउने बिरामीको संख्या सर्वाधिक पुगेको छ । आइतवार १४ जनाको मृत्यु भएपछि बेलायतमा मृतकको संख्या ३५ पुगेको छ ।
महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप युरोपका देशहरूले नागरिकहरूको हिँडडुलमा प्रतिबन्ध लगाएका छन् तथा सीमामा कडाइ गरेका छन् । जर्मनीले सोमवार बिहानदेखि फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, डेनमार्क र लक्सम्बर्गसँगको सीमामा नियन्त्रण गरेको छ । पोर्चुगलले पनि स्पेनसँगको सीमा बन्द गरेको छ । चेक सरकारले काममा जान, आवश्यक सामग्री किनमेल गर्न र कसैलाई आकस्मिक रूपमा भेट्नुपरेमा मात्र जान पाइनेगरी आइतवार मध्यरातिदेखि हिँडडुलमा प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्ध मार्च २४ सम्म लागु हुनेछ । अस्ट्रियामा पाँच जनाभन्दा बढी मानिस भेला हुन पाउनेछैनन् । रिपब्लिक अफ आयरल्यान्डमा मार्च २९ सम्म सबै मदिरालय बन्द गर्न निर्देशन दिइएको छ । युरोपभरि विद्यालयहरू बन्द रहनेछन् ।
चीनबाट फैलिएको कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उसले कोभिड–१९ लाई प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारी घोषणा गरिसकेको छ । संकट कति गम्भीर छ भन्ने कुराको संकेत स्विट्जरल्यान्डमा २४ घण्टा भित्र संक्रमित व्यक्तिको संख्या ८०० बाट २,२०० पुग्नुबाट पाइन्छ । त्यहाँ अहिलेसम्म कोभिड–१९बाट १४ जनाको मृत्यु भएको छ । सर्वाधिक संक्रमण इटलीमा भेटिएको छ । त्यहाँ लोम्बर्डीमा मात्र २४,७४७ जना संक्रमित भएका छन् र १,२१८ जनाको मृत्यु भएको छ । गत सोमवारदेखि सरकारले इटलीभरि मानिसहरूको आउजाउमा प्रतिबन्ध लगायो। त्यहाँ खाद्यान्न र औषधि पसलबाहेक अन्य सबै व्यावसायिक केन्द्र बन्द छन् । विद्यालय, व्यायामशाला, संग्राहालय, रात्रिक्लब र अन्य स्थान त्यसअघि नै बन्द गरिएको थियो ।
स्पेनमा ७,७५३ जनामा संक्रमण देखिएको छ भने फ्रान्समा ५,४०० जना संक्रमित भएका छन् । युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन् । संकटकाल घोषणा गर्दै स्पेनले सर्वसाधारण नागरिकलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । शनिवार रातिदेखि फ्रान्समा रेस्टुराँ, क्याफे, चलचित्रघर र रात्रिक्लब तथा अत्यावश्यकबाहेक अन्य सबै व्यवसायहरू बन्द भएका छन् । विश्वभरि अहिलेसम्म १ लाख ६२ हजार ६८७ मानिसमा संक्रमण भएको पुष्टि भएको छ । त्यसको झन्डै आधा (८१,००३) चीनमा भेटिएका छन् । कोभिड–१९ बाट मृत्यु हुने मानिसको संख्या ६,००० नाघेको छ । त्यसमा आधा अर्थात् झन्डै ३,०८५ जनाले चीनमा ज्यान गुमाएका हुन् ।
दक्षिण अफ्रिकाले बुधवारदेखि कोरोनाभाइरसको महामारी फैलिएका देशका नागरिकलाई प्रवेश नदिने घोषणा गरेको छ । त्यहाँ ६१ जनामा संक्रमण देखिएपछि देशभित्र भाइरस फैलिन दिन संघर्ष भइरहेको भन्दै राष्ट्रपतिले ‘राष्ट्रिय प्रकोपको स्थिति’ घोषणा गरेका छन् । कोरोनाभाइरसको विश्वव्यापी प्रकोपले पारेका प्रभावबाट आफ्नो अर्थतन्त्रलाई जोगाउन अमेरिकाको केन्द्रीय बैंकले दुई सातामा दोस्रो पटक ब्याजदर घटाएको छ । विश्व बजारमा उत्पन्न मन्दी घटाउन केन्द्रीय बैंकहरूले ब्याजदर कम गरिरहेका बेला अमेरिकी फेडरल रिजर्भले विश्वकै ठूलो अर्थतन्त्रलाई बचाउन पछिल्लो कदम चालेको हो । त्यो कदमको अमेरिकी राष्ट्रपतिले पनि स्वागत गरेका छन् ।
कोरोनाभाइरस सङ्क्रमण रोकथामप्रतिको आफ्नो प्रतिक्रियाको लगातार आलोचना खेपिरहेका ट्रम्पले अहिले आफ्नो देशले निकै राम्रो गरिरहेको बताउँदै मानिसहरूलाई आत्तिएर धेरै नकिन्न र धेरै नथुपार्न आग्रह गरेका छन् । उनले किराना पसलहरूलाई पर्याप्त खाद्यवस्तु राख्न र ग्राहकलाई चौबिसै घन्टा सेवा दिन समेत आग्रह गरे । अमेरिकामा ३,२०० भन्दा बढी मानिसमा संक्रमण देखिएको छ भने ६२ जनाको मृत्यु भइसकेको छ ।
दक्षिण एशियाली देशहरूको सङ्गठन सार्कले कोरोनाभाइरस महामारीसँग संघर्ष गर्न एउटा कोष स्थापना गर्ने निर्णय गरेका छन् । त्यसका लागि भारतले एक करोड डलर उपलब्ध गराउने घोषणा गरेको छ । उनीहरूले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिलेसम्म भारतमा ११७ जनाभन्दा बढीमा संक्रमण भएको पुष्टि भएको छ । त्यहाँ दुई जनाको ज्यान गइसकेको छ ।
Facebook Comment