बिरामीको मृत्यु भएपछि अस्पतालको सेवा ठप्प

डिसी नेपाल
३ चैत २०७६ २२:४६

लुम्बिनी । उपचारमा आएका बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल रानिगाउँ (युसिएमएस) भैरहवामा मस्तिस्कघातको उपचार भइरहेकी बिरामी नवलपरासी बर्दघाटकी यमकुमारी पुनको आज मृत्यु भएको थियो ।

मृतकका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै न्यूरो सर्जरीको कक्षमै प्रवेश गरी उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका अस्पताल प्रशासनले जनाएको छ । उपचार कक्षमै चिकित्सकमाथि भौतिक आक्रमण गरेको भन्दै आज दिनभरी युसिएमएसमा ओपिडी सेवा ठप्प भयो । चिकित्सकहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म आकस्मिक सेवाबाहेक अन्य सेवामा संलग्न नहुने बताएका छन् । अस्पतालका जनसम्पर्क अधिकारी सुशील गुरुङका अनुसार मस्तिस्कघात भएर आएकी यमकुमारीको उपचारका क्रममा मृत्यु भएको हो ।

गुरुङले बिरामीको सोमबार बिहानै मृत्यु भएपछि आफन्तले एक्कासि उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका बताए । मृतकका आफन्तको कुटाइबाट डा अर्चन घिमिरे घाइते भएको अस्पतालले जनाएको छ । आज दिउँसो अबेरसम्म अस्पतालमा प्रदर्शन गरेका आफन्तले शव लगेर सदगत गरिसकेका छन् । तर चिकित्सक भने काममा फर्केका छैनन् । उक्त विषयमा जिल्लास्थित सुरक्षा प्रमुखसँग पनि छलफल भएको अस्पतालका प्रशासकीय प्रमुख तेजकुमार केसीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *