२१ वर्षका स्पेनिस फुटबल कोच फ्रान्सिस्को गार्सियाको कोरोनाभाइरसका कारण मृत्यु

काठमाडौं। स्पेनिस फुटबल कोच फ्रान्सिस्को गार्सियाको २१ वर्षको उमेरमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ । गार्सियाले २०१६ देखि स्पेनको मालागा शहरमा आधारित टिम एथ्लेटिको पोर्टाडा अल्टाको युवा टिमको कोचको रुपमा काम गरिरहेका थिए । उनी यस क्षेत्रमा सबैभन्दा कान्छा ज्यान गुमाउने संक्रमित बनेका छन् ।
गत हप्ता कोरोनाभाइरस संक्रमित देखिएपछि मालागाकै क्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएका गार्सियाले आइतबार ज्यान गुमाएको गोल डटकमले उल्लेख गरेको छ । अस्पताल पुर्याइएका गार्सियामा ल्युकामिया पनि देखिएको थियो जसले उनको शरीरको प्रतिरक्षा प्रणाली निकै कमजोर बनाएका कारण भाइरस उनीमाथि हावी भएको थियो ।
गार्सिया कोरोनाभाइरसका कारण ज्यान गुमाउने अहिलेसम्मकै कान्छा हुन सक्ने विश्वास गरिएको छ यद्यपि यसको पुष्टि भइसकेको छैन । एथ्लेटिको पोर्टाडा अल्टाले गार्सियाको मृत्युको पुष्टि गर्दै सामाजिक संजालमा एक वक्तव्य जारी गरेको छ । क्लवले गार्सियाप्रति श्रद्धाजली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
Facebook Comment