अमेरिकी राष्ट्रपतिको आग्रहको धज्जी उडाउँदै उनकै गृहनगर फ्लोरिडामा सयौंको भीड
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस फैलिनबाट रोक्नका लागि अमेरिकी नागरिकलाई १० जनाभन्दा धेरैको संख्यामा जम्मा नहुन आग्रह गरेकै दिन उनकै गृहनगर फ्लोरिडामा उनको आग्रहको धज्जी उडाइयो । फ्लोरिडाको क्लियरवाटर बीच सयौंको संख्यामा पर्यटकहरु देखिए जसले ट्रम्पको आग्रहलाई महत्व दिएजस्तो देखिएको थिएन ।
तस्वीर र भिडियोमा फ्लोरिडाको पश्चिमी किनारामा रहेको यो समुद्र किनारमा सयौंको संख्यामा पर्यटक देखिएका छन् । फ्लोरिडाका केही समुद्र किनारहरु कोरोनाभाइरसको प्रकोपकै कारण बन्द गरिएको अवस्थामा पनि बन्द नगरिएका बीचमा भने भीड जम्मा भइरहेका छन् । क्लियरवाटर बीच नजिकै रहेको ट्याम्पा बीच पनि खुला र व्यस्त रहेको समाचारमा जनाइएको छ ।
कोरोनाभाइरसले विश्वभर ६ हजार ५ सय भन्दा धेरैको ज्यान लिइसकेको छ । अमेरिकामा मात्र ४ हजार ५ सय जना संक्रमित भइसकेका छन् र ७९ जनाले ज्यान गुमाइसकेका छन् । फ्लोरिडा राज्यमा मात्र १४९ जना संक्रमित भएको पुष्टि भइसकेको छ । संक्रमितमध्ये अधिकांश किशोरअवस्था देखि २५ वर्षसम्मका छन् । यो राज्यमा मात्र ४ जना भाइरसका कारण मरेका छन् ।
Facebook Comment