एक प्रतिशत भन्दा बढी संस्थापक शेयर भएको व्यक्ति बीमा कम्पनीको सिईयो बन्न नपाउने
काठमाडौं। बीमा कम्पनीको एक प्रतिशत भन्दा बढी संस्थापक शेयर हुने व्यक्ति कुनैपनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने भएका छन्।
सरकारले एक प्रतिशत भन्दा बढी शेयर भएका व्यक्तिले बीमकसँग वित्तीय स्वार्थ राखेको हुन सक्ने भन्दै त्यस्तो व्यक्तिलाई बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाउने व्यवस्था गर्न लागेको हो।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थापक शेयर एक प्रतिशत भन्दा बढी भएको व्यक्तिलाई सिइओ बन्न आयोग्य मान्नुपर्ने बताएका हुन्।
बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री खतिवडाले एक प्रतिशत भन्दा बढी संस्थापक शेयर हुने व्यक्तिसँग वित्तीय स्वार्थ भएको हुनसक्ने भएकाले सिइओ बन्न अयोग्य मान्नुपर्ने बताएका हुन्।
उनले भने, ‘बीमा कम्पनीको एक प्रतिशत सम्म शेयर लिएको रहेछ भने त्यो फेरि पनि यहाँ सिइओ हुन पायो त्यो भन्दा बढी रहेछ भने वित्तीय स्वार्थ देखिन्छ। त्यसपछि उ योग्य हुँदैन तर अव यो शेयर भनेको संस्थापक शेयरको कुरा भयो। अब उसले बजारबाट शेयर किनेको रहेछ भने होल्ड गरेको रहेछ भने के हुने भन्ने विषय एउटा रहन्छ। आफू नियुक्त हुनको लागि योग्य छु भनेर भनिरहँदा उसले बीमा कम्पनीहरुबाट होल्ड गरेको आफ्नो शेयर स्वामित्व पूरै देखाउनुपर्छ। त्यो विनियमबाट राख्नुपर्छ होला जस्तो मलाइ लाग्छ।’
अर्थमन्त्री खतिवडाले कुनैपनि सिइओले दोस्रो बजारबाट खरिद गरेको साधारण शेयर समेत खुलाउनुपर्ने बताए। त्यस्तै बैठकमा बीमा कम्पनीहरुलाई लघुबीमा कार्यक्रम अनिवार्य कार्यान्वयनमा लैजाने गरी विधेयकमै व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो।
अर्थमन्त्री खतिवडाले नयाँ व्यवसाय गर्न नसक्ने, नयाँ प्रकारले कृषि गर्न नसक्ने, उद्यम गर्न नसक्नेलाई प्रोत्साहन गर्नका लागि पनि लघु बीमालाई अनिवार्य गर्नुपर्नेमा जोड दिए।
Facebook Comment