अर्थतन्त्रमा कोरोना कहर : आयकरदेखि बैंकको व्याजसमेत छुट गर्न माग

डिसी नेपाल
४ चैत २०७६ १८:११

काठमाडौं । कोरोना भाइरसको त्रासले मन्दी देखिएको कारण देखाउदै व्यवसायीहरु राज्यसँग विभिन्न छुट तथा सुविधा माग्न थालेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटेर विशेष प्याकेज नै माग गरेका व्यवसायीहरुले आयकरदेखि बैंकको व्याजसमेत छुट जस्ता माग राख्न थालेका छन् ।

यद्यपी सरकारले अहिलेसम्म त्यस्तो कुनै राहत घोषणा गरेको छैन । सबै क्षेत्रका व्यवसायीले छुट मागे पनि सरकार भने अझैसम्म पर्ख र हेरको अवस्थामा छ । व्यवसायीले भनेजस्तो आर्थिक मन्दी नआएकोले तत्काल राहत घोषणा गर्नुपर्ने अवस्था नभएको व्यवसायीसँगको भेटमा अर्थमन्त्रीले स्पष्ट पारिसकेका छन् ।

यसैबिच, नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि कोरोना संक्रमण अवधिमा लागेको बैंकको व्याज तथा हर्जाना छुट गर्न र चैत मसान्तसम्म बुझाउनु पर्ने आयकरको किस्ता बुझाउने म्याद अर्को तीन महिनाका लागि थप्न माग गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै उद्योग नविकरण गर्ने म्याद कम्तिमा ६ महिना थप गर्न, नविकरण शुल्क मिनाहा गर्न र वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशी उद्योगमा प्रतिस्थापन गर्न वा नयाँ उद्योग संचालनका लागि प्रोत्साहन हुने सीप विकास तालिम प्रदान गर्नुपर्ने आग्रह गरेको छ ।

महासंघले औद्योगिक क्षेत्रमा कार्यरत विदेशी श्रमिकहरु सुरक्षाका लागि आफ्नो मुलुक फर्किएका र स्वदेशी जनशक्ति समेत सुरक्षित स्थानतर्फ लागेकाले उद्योग क्षेत्रमा जनशक्तिको अभाव हुँदै गएको जानकारी दिएको छ । कच्चा पदार्थ, जनशक्तिको अभाव, सन्त्रासको वातावरणका कारण उत्पादकत्वमा कमी भई नेपालको औद्योगिक क्षेत्रमा विचलन आएको भन्दै महासंघले यस्तै अवस्था अरु केही समय रहेमा उद्योगहरु बन्द गर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्नेतर्फ समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

कोरोना भाइरसका कारणले औद्योगिक क्षेत्रलाई असर पारेता पनि उद्योगहरुले कर्मचारी तथा मजदुरहरुलाई पारिश्रमिक दिइनुपर्ने, प्रशासनिक खर्च भइरहने र बैंकको व्याज लागिरहने भएकाले उद्योग क्षेत्र खास गरेर लघु, घरेलु तथा साना उद्योगीहरु मर्माहत भएको महासंघले जनाएको छ ।
यसैगरी, महासंघले आफ्ना घोषित कार्यक्रमहरुलाई स्थगन गरेको छ । अन्य मुलुकको तुलनामा नेपालमा हालसम्म न्यून संक्रमण देखिएको भएतापनि सजगता र सावधानी अपनाइएन भने यसले हाम्रो मुलुकमा पनि महामारीको रुप लिन सक्ने भएकाले यसतर्फ सजग रहन सबैसमक्ष महासंघले अपिल गरेको छ ।

सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आव्हान गरिसकेको सन्दर्भमा सो आव्हानलाई मध्येनजर गर्दै महासंघले घोषित कार्यक्रमहरु स्थगित गरेको हो ।

महासंघद्घारा घोषित कार्यक्रम अन्तरगत यही चैत १४, १५, १६ राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीहरु रहेका थिए ।

कोरोना भाइरसका कारण नेपालको औद्योगिक क्षेत्र, पर्यटन व्यवसाय तथा सानो पूँजीमा संचालित लघु, घरेलु तथा साना उद्योगहरु धाराशायीमा परेको तथा भ्रमण वर्ष २०२० समेत स्थगनमा परेको छ । संक्रमणको त्रासले नेपालको औद्योगिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको भन्दै महासंघले छिमेकी राष्ट्र भारतसँग जोडिएका चार वटा नाका मात्र खोलेकोले उद्योग क्षेत्रलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा असर परिरहेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *