मलेसियामा रहेको नेपाली दूतावासका नियमित सेवाहरु बन्द हुने
क्वलालम्पुर । मलेसियमा रहेको नेपाली राजदूतावासले आफ्न्ना नियमित कन्सुलर सेवाहरु बन्द गर्ने भएको छ । मलेसियामा कोरोनाको प्रकोप नियन्त्रण गर्न भन्दै मलेसियन सरकारको आग्रहमा दूतावासले नियमित कन्सुलर सेवाहरु बन्द गर्ने भएको हो ।
राजदूतावासले आगामी मार्च १९ तारिख बिहीबारदेखि मार्च ३१ तारिखसम्म नियमित सेवाहरु बन्द गर्न लागेको जनाएको छ । तर, अति अत्यावश्यक परेमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिने जनाइएको छ ।
कोरोना प्रकोपको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आगामी मार्च १८ तारिख बुधबार देखि मार्च ३१ सम्म लकडाउन गरिने भएको छ । आवश्यक देखिएमा यो अवधि बढाउन सकिनेछ ।
कोरोना बिरुद्द लड्न २ हप्ताका लागि सरकारले संक्रामक रोगहरूको रोकथाम तथा नियन्त्रण ऐन १९८८ तथा प्रहरी ऐन १६६७ लागू गर्न निर्देशन दिएको प्रधानमन्त्री टान श्री मुहिद्दीन यासीनले बताएका छन् । कोरोनाभाइरस फैलिने सम्भावित खतराको पूर्वतयारीस्वरुप यस्तो निर्णय गरिएको हो।
२ हप्तासम्म देशबाहिर जान मलेसिया सरकारले आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाएको छ । देशबाहिर रहेका मलेसियन नागरिक भने स्वदेश फर्किने सक्नेछन् । तर, त्यसरी फर्किएकाहरूले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।
यो अवधिमा पर्यटक र आप्रवासीलाई समेत प्रवेश रोक लगाइएको छ ।सरकारी तथा निजी कार्यालयसँगै शैक्षिक संस्थाहरू पनि यो अवधिमा पूर्णतः बन्द हुनेछन् । यातायात, स्वास्थ्य संस्था, वित्तीय क्षेत्र, औषधि, खाना, ग्यासलगायतका अत्यावश्यकीय सेवा प्रवाह भने सञ्चालन हुने जनाइएको छ ।
मलेसियाकोको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६ सय ७३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। २ जनाको यो भाइरसले ज्यान लिएको छ । ४९ जना उपचारपछि निको भएका छन्। १० जनाको अवस्था गम्भिर छ।
Facebook Comment