नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापी बनिरहेका बेला सो पार्टीले सचिवालयको बैठक बोलाएको हो।
बैठकको एजण्डा सार्वजनिक गरिएको छैन। तर, उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णयलगायतका विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली मिर्गाैला प्रत्यारोपण गरेर निवास फर्किएपछि बैठक बस्न लागेको हो। सचिवालयले गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन।
प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने भए पनि मिर्गौलाको प्रत्यारोपण गर्न अस्पताल भर्ना भएसँगै प्रभावित भएको थियो।
सचिवालयका अधिकांश सदस्यले सचिवालय बैठकले गरेको निर्णय प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्नुपर्ने दबाब दिँदै आएका छन्। मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दुईपटक छलफल गरेका थिए।
Facebook Comment