खोपको निम्ता बाँड्दै घर–घरमा पुगे जनप्रतिनिधि !

डिसी नेपाल
५ चैत २०७६ ९:२०

जाजरकाेट। “आदारणीय अभिभावकज्यूहरु, तपाईंको वडामा यही चैत्र १ गतेदेखि २९ गतेसम्म दादुरा–रुवेला खोप अभियान सञ्चालन हुँदैछ। यस अवसरमा नौ महिनादेखि ५९ महिनाका सबै बालबालिकालाई नजिककैको खोप केन्द्रमा ल्याइदिनुहुन अनुरोध छ। प्रार्थी नगरप्रमुख, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र स्वास्थ्य संस्था प्रमुख।”

स्वास्थ्य सेवा कार्यालयमार्फत सरोकारवाला निकायले यहाँका सात स्थानीय तहमा बालबालिका भएको सबै घरमा पठाएको निमन्त्रणा कार्डमा उल्लेख भएको वाक्य हो, यो। जाजरकोटका सबै स्थानीय तहका जनप्रतिनिधिले अहिले सन्देशसहितको चिठ्ठी बोकेर घर–घरमा पुगी निम्तो बाँडिरहेको छन्।

कोही पनि नछुटुन् भनेर घर–घरमा गएर सन्देश, निम्तासहितको कार्ड वितरण गरिएको र अनिवार्य खोप लगाउन मौखिमरूपमा समेत निम्ता दिइएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए। उनले भने, “जानकारी नपाएर पनि धेरै अभिभावकले बालबालिकालाई खोप दिन भुलेको अवस्था छ, यसमा हामी सबैले जोडदारका साथ अभियानमा लागेर सफल बनाउनुपर्छ, राज्यको सेवासुविधा सहीरूपमा सदुपयोग गर्न म सबैलाई अनुरोध पनि गर्दछु।”

घर–घरमा निम्ता कार्ड बोकेर खोप लगाउन सल्लाह दिँदै हिँडेका जनप्रतिनिधि देखेर स्थानीयवासी खुशी भएका छन्। बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले भने, “महिला स्वयंसेविकाले खोपका विषयमा अलि–अलि जानकारी गराएको त थाहा थियो, योपटक जनप्रतिनिधि आफैँले सही गरेको कार्ड बोकेर घरघरमा आउँदा अलि फरक मात्र होइन, खोप लगाउन बाध्यसमेत पारिदिएको छ।” सञ्चार सेवाको पहुँच नभएका जाजरकोटका दूरदराजमा खबर मात्र होइन सञ्चारको कामसमेत जनप्रतिनिधिबाट हुँदै आएको छ।

यो कार्यक्रम सफल बनाउका लागि सात स्थानीय तहका जनप्रतिनिधिलाई सुक्ष्म योजना तालिम दिइएको छ। त्यस्तै खोप कार्यक्रमका लागि एकदिने अभिमुखीकरण तालिमसमेत दिइएको स्वास्थ्य सेवा कार्यालयका खोप सम्पर्क व्यक्ति शान्तबहादुर बुढाथोकीले जानकारी दिए। उनका अनुसार पत्रकार, नागरिक समाज, प्रमुख जिल्ला अधिकारी, प्रहरीसमेत सचेतना गोष्ठीमार्फत आवश्यक जानकारी दिइएको छ।

खोपको प्रभावकारी तथा सही सदुपयोग भएको वा नभएको बारेमा अनुगमनसमेत गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए। नेपालबाट दादुरा–रुवेला रोग पूर्णरूपमा निवारण गरौँ भन्ने खोप कार्ड स्वास्थ्य संस्था र अभिभावकप्रति सबै विवरण भरेर अभिलेखीकरणसमेत गरिएको छ। यो अभिलेखीकरणले कति बालबालिका खोपको पहुँचमा आए भन्ने स्पष्ट हिसाब आउने बुढाथोकीले बताए।

के हो दादुरा र रुवेला रोग ?

दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो। मिजल्स नामक भाइरसका कारण यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। रुवेला पनि रुवेला भाइरसका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

पाँच वर्षभन्दा मुनिका बालबालिकालाई छिटो सर्ने सरुवा रोग हो। छिट्टै महामारीको रुपमा लिन सक्ने अवस्था भएको रोग भएकाले यसलाई सरकारद्वारा विशेष महत्व दिइएको छ। बालमृत्युदर उच्च हुनुमा यी रोगले प्रमुख भूमिका खेलेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

जिल्लाको जुनिचाँदे, शिवालय र छेडागाड नगरपालिकामा चैत १ देखि ९ सम्म, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा चैत ११ देखि १९ गतेसम्म तथा भेरी नगरपालिका र कुशे गाउँपालिकामा चैत २१ देखि २९ गतेसम्म खोप लगाइने स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *