अष्ट्रेलियास्थित नेपाली दूतावासको अपिल– अत्यावश्यक काममाबाहेक दूतावासमा नआउनु
सिड्नी । अष्ट्रेलियामा रहेको नेपाली दूतावासले सेवाग्राहीहरुलाई अत्यावश्यक काममा बाहेक राजदूतावासमा नआउन अपिल गरेको छ । कोरोना संक्रमण फैलने सम्भावित जोखिमलाई मध्यनजर गर्दे दूतावासले यस्तो अपिल गरेको हो ।
क्यानबारास्थित राजदूतावासले एक सूचना जारी गर्दै मार्च १९ तारिख बिहीबारदेखि अर्को सूचना नआएसम्म जरुरी कामका लागि बाहेक दूतावासमा नआउन आग्रह गरेको हो ।
दूतावासले राहदानी नवीकरण, ट्राभल्ल डकुमेण्ट (यात्रा अनुमतिपत्र), गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालक अनुमतिपत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भए राजदूतावासको वेभसाइडमा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत दूतावासको ठेगानामा पठाउन अनुरोध गरेको छ ।
दूतावासमा अत्यावश्यक सेवा लिनुपर्ने भएमा टेलिफोनबाट समय तय गरि अफिस सञ्चालन हुने दिनमा बिहान १ बजेदेखि दिउँसो १ बजेभित्रमा आउन अनुरोध गरेको छ । त्यस्तै अत्यावश्यक सेवा लिन सम्बन्धित व्यक्ति एक्लै आउन पनि आग्रह गरेको छ ।
दूतावासले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक बाहिर हिँडडुल नर्गन समेत अनुरोध गरेको छ ।
अष्ट्रेलियाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ सय ६० जनामा यसको संक्रमण देखिएको छ । ६ जनाको ज्यान लिएको छ। त्यस्तै ४३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । अष्ट्रेलियामा एक नेपालीलाई पनि यसको संक्रमण देखिएको छ ।
Facebook Comment