प्रजिअलाई गृहको निर्देशनः अत्यावश्यक काम बाहेक जिल्ला नछाड्नू

डिसी नेपाल
५ चैत २०७६ १२:५३

काठमाडौं। विश्वमै कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई अत्यावश्यक काम बाहेक बिदा नबस्न निर्देशन दिएको छ।

मन्त्रालयले बुधबार विहान प्रमुख जिल्ला अधिकारी मार्फत अन्य कार्यालयका कर्मचारीले पनि अत्यावश्यक अवस्थामा मात्र बिदा पाउने निर्णय गर्न लगाउन आग्रह गर्दै जिल्ला नछाड्न निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता सहिसचिव केदारनाथ शर्माले जो कोहीलाई संक्रमण देखिएमा व्यवस्थापनतर्फ लाग्नुपर्ने भएकाले बिदा रोकिएको जानकारी दिए।

सीमा क्षेत्रका प्रहरी कार्यालयका इन्चार्जलाई पनि बिदा बस्न रोकिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए। प्रहरी प्रधान कार्यालयले नेपालमा कोरोना संक्रमण देखिएमा आफ्नोतर्फबाट कसरी व्यवस्थापन गर्ने भनेर कार्ययोजना नै बनाइएको छ।

सम्भावित संक्रमणबाट जोगिन सतर्कताका उपायसमेत सिकाइएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलले देशभरिका गणमा क्वारेन्टाइन कोठा बनाएको छ।

शंकास्पद बिरामी (सर्वसाधारण र प्रहरी दुवै)लाई राख्न क्वारेन्टाइन बनाइएको हो। सबैजसो कार्यालयमा थर्मलगनबाट चेकजाँच सुरु गरिएको र संक्रमणबाट जोगिन निर्देशन दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

गृहमन्त्रालयले अत्यावश्यक काम बाहेक कर्मचारीलाई जिल्ला नछाड्न निर्देशन दिएपछि जिल्ला हुने भोज, जात्रा, समारोह सबै स्थगन गर्न पनि सम्बन्धित सबैलाई आग्रह गरेको छ।

कोरोना विश्वव्यापी रुपमा फैलिएको कारण समयकै सावधानी अपनाउन सो निर्णय गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले विपद व्यवस्थापन महाशाखालाई पनि तयारी अवस्थामा राखेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *