जर्मनीमा कोरोना : सावधानी अपनाएर हालसम्म सबै नेपाली सुरक्षित
जर्मनी। युरोपियन मुलुक जर्मनीमा कोरोना संक्रमितको संख्या दश हजार नाघेको छ। जर्मनीमा हालसम्म काेराेना भाइरसका कारण २६ जनाले ज्यान गुमाएका छन्।
अन्य देश भन्दा विपरित जर्मनीमा ६० वर्ष मुनिका बढी संक्रमित देखिएका छन्। ८४.५५ प्रतिशत संक्रमित ०–५९ वर्ष उमेर समूहका छन्। ६० वर्ष माथिका केवल १५.५५ प्रतिशत मात्र छन्।
कोरोनाको संक्रमण बढ्दै गएपछि यहाँ निश्चित संख्या भन्दा बढी मानिस जम्मा हुन रोक लगाइएको छ। बार,नाइटक्लब, चर्च, सिनेमाहल, स्कुल, कलेज पूर्णरुपमा बन्द छन्। बुधबारबाट खाद्यान्न, औषधि पसलबाहेक अन्य व्यवसाय बन्द गरिँदैछ।
होटलमा बसेका पाहुना बसाई अवधि टुंग्याएर घर फर्कने क्रम सुरु भएको छ। रेष्टुरेन्ट बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न अनुमति दिएको छ। तर, टेबलहरु डेढ मिटरको दूरीमा हुनुपर्छ। अटेर गर्नेलाई जरिवानासहित कारवाही गरिने चेतवानी दिइएको छ।
घुमफिर र अन्तरिक आवतजावत अहिलेसम्म निषेध गरिएको छैन। मानिसहरुलाई सम्भव भएसम्म सेल्फ क्वारेनटाईनमा बस्न आग्रह गरिएको छ।
भ्रमण र विदा मनाउन बाहिरी देश गएर फर्केका जर्मन नागरिकलाई पहिलो चरणमा करिब ५० ओटा जहाजमार्फत देश फर्काउनको लागि बुधबारबाट एअर लिफ्ट सेवा सुरु भएकाे छ। यो योजनाका लागि सरकारले ५० मिलियन युरो बिनियोजन गरेको छ।
कोरोनाले गर्दा व्यापार व्यवासय ठप्प भएपछि यहाँ रहेका नेपालीहरु मारमा परेका छन्। यसको सबै भन्दा मार नेपाली विद्यार्थीलाई परेको छ। जसले दिनभर काम गरेर बेलुकाको लागि जोहो गर्थे।
लुफ्थान्साले अप्रिल २४ सम्म आफ्ना करिब २५ हजार फ्लाइट रद्द गराएको छ। गैरयुरोपियन नागरिकलाई युरोप प्रवेशमा एक महिनाका लागि रोक लगाइएको छ। फ्रान्स, स्विटजरल्याण्ड, अस्ट्रिया, डेनमार्क लक्जेम्बर्गसँगका सिमाना बन्द गरिएका छन्। जर्मन नागरिक र निवास अनुमति भएका बिदेशीहरुका हकमा प्रवेश निषेध गरिएको छैन।
कोरोनाभाइरस बिरामीको उपचारका लागि सेनाको सहयोगमा १ हजार शैय्याको आपतकालीन अस्पताल निर्माण गरिने भएको छ। जर्मनीमा करिब २५ हजारको संख्यामा आईसीयू बेड छन्, जुन विश्वमा दोश्रो ठूलाे संख्या हो।
आवश्यक परेमा होटलहरुलाई आईसोलेसन रुमको रुपमा प्रयोग गरिने योजना अघि सारिँदैछ। पुराना अन्य रोगका विरामीहरुको अप्रेशन पछि धकेलिएको छ। सामान्य विरामीलाई भर्ना लिन छोडिएको छ।
कम्पनीलाई कोरोना भाइरसबाट पर्न गएको आर्थिक असरको सामना गर्न ५५० अरब युरोको आर्थिक सहायता प्याकेज घोषणा गरिएको छ। दोश्रो विश्व युद्धपछिको यो सबैभन्दा ठूलो सहयोग रकम हो। यो प्याकेज सुरुआती रकम मात्रै भएको र आवश्यक परेमा थप ऋण रकम उपलब्ध गराउन सकिने उल्लेख गरिएको छ।
नेपाली सुरक्षित
हालसम्म जर्मनीमा रहेका कुनै पनि नेपालीमा यसको संक्रमण नदेखिएको नेपाली राजदूतावासका राजदूत रमेशप्रसाद खनालले बताए। कोरोनाबाट बच्न यहाँ रहेका नेपालीले उच्च सतर्कता अपनाएको दूतावासको भनाइ छ। नेपालीहरु त्रसित नभइ सजग रहेको उनले बताए।
कोरोनाले गर्दा व्यापार व्यवासय ठप्प भएपछि यहाँ रहेका नेपालीहरु मारमा परेका छन्। यसको सबै भन्दा मार नेपाली विद्यार्थीलाई परेको छ। जसले दिनभर काम गरेर बेलुकाको लागि जोहो गर्थे।
नेपाली व्यवसायीले पनि आफ्ना व्यवसाय बन्द गरिसकेका छन्। ब्रेमेनमा रेष्टुुरेन्ट व्यवसाय गरेका बेल गुरुङले आफ्नो व्यवसाय बन्द गरेको बताए। ‘रेष्टुुरेन्ट बन्द गरेर कर्मचारीलाई बिदा दिइसकेको छु। यो बसन्त ऋतु भनेको जर्मनीमा पर्यटकहरुको भिडभाड हुने समय हो। तर, कोरोनाले सबै सुनसान बनाएको छ,’ गुरुङले भने।
जर्मनीमा करिब २५ हजारको हारहारीमा नेपाली छन्।
Facebook Comment