बजारमा कुनै पनि वस्तुको अभाव भए त्यसको जिम्मेवारी लिन्छु : आपूर्तिमन्त्री भट्ट

डिसी नेपाल
५ चैत २०७६ १६:५६

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनै पनि वस्तुको अभाव भए त्यसको जिम्मेवारी लिने बताएका छन् ।

बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधि लगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने बताए ।

उनले मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि गरिरहेको बताए । मन्त्री भट्टले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले भने, ‘पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन् । राज्यले अभाव हुन दिन्न् । विभागिय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ ।’ मन्त्री भट्टले पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन पनि आग्रह गरे ।

कन्ज्युमर आइका महासचिव राजन खनालले खानेपानी संस्थानले दिने खानेपानीले हात धुँदा रोग सर्दैन भन्ने ग्यारेण्टी गर्नुपर्ने बताए । ‘हाम्रो धारामा आएको खानेपानीले हात धुँदा हामी सुरक्षित हुन्छौँ भन्ने ग्यारेण्टी कसैले गर्न सक्छ ?’, उनले प्रश्न गरे । महासचिव खनालले पिक आवरमा सार्वजनिक यातायात बढेर यात्रा गर्न सरकारी अधिकारीहरुलाई चुनौती पनि दिए ।

कार्यक्रममा सरोकारवालाहरुले पेट्रोलको मूल्य घट्ने सूचना सार्वजनिक भएलगत्तै पम्पहरु बन्द हुँदा उपभोक्ताहरुमा मारमा परेको बताएका थिए । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्यले थोक पसलबाट सामान ढुवानी गर्दा केही समस्या उत्पन्न भइरहेको बताए । बजारमा भने कुनै पनि वस्तुको अभाव नभएको उनले बताए ।

कोरोना भाइरस (कोभिड—१९) विश्वव्यापी प्रभाव नेपालमा पनि परेको छ । नेपाली बजारमा दैनिक उपभोग्य वस्तु समेत अभाव हुन थालेको उपभोक्ताहरुले गुनासो गरिरहेको छन् । मन्त्रालयले भने बजार अनुमगन र कारवाहीलाई प्राथमिकता दिएको बताउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *