शेयर बजारमा कोरोना असर : कारोबार बन्द गर्न सुझाव

डिसी नेपाल
६ चैत २०७६ १४:२७

काठमाडौं। कोरोना भाइरस संक्रमणको त्रासका कारण सरकारले २५ जनाभन्दा बढी मानिस जमघट हुने कार्यक्रममा रोक लगाएसँगै शेयर बजारको कारोबार समेत बन्द गरिने भएको छ।

नेपाल धितोपत्र बोर्डमा विहिबार भएको सरोकारवालाको छलफलमा न्यूनतम एक साताका लागि कारोबार रोक्ने सहमति भएको हो।

बिहीबारको छलफलमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का साथै ब्रोकर, लगानीकर्ताहरुका संघ/संस्था सहभागी थिए। सरोकारवालाबाट तत्कालका लागि नेप्सेको कारोबार रोक्न सुझाव आएको र बोर्डले आवश्यक निर्णय गर्ने प्रवक्ता निरज गिरीले जानकारी दिए।

यसअघि नै बोर्डले शेयर ब्रोकर कार्यालयमा अनावश्यक भिडभाड नगर्नु र घरबाटै अनलाईनमार्फत कारोबार गर्न आवहान गरेको थियो। यसैगरी ब्रोकर कार्यालयको डिस्प्ले बन्द गर्न बोर्डले निर्देशन दिएको थियो।

विद्यमान कानुनी व्यवस्था अनुसार बोर्डले अधिकतम एक सातासम्मका लागि मात्रै शेयर कारोबार रोक्न पाउँछ। त्यसभन्दा बढी समय बजार बन्द गर्न सरकारको सहमति लिनुपर्ने व्यवस्था भएकाले तत्कालका लागि आगामी साता कारोबार बन्द गर्न लागिएको हो।

कोरोना भाइरसको संक्रमणको त्रासले आर्थिक गतिविधिमा मन्दी आइसकेको छ। जसका कारण गत सातादेखि बजार निरन्तर ओरालो लागिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *