अरुलाई भाइरस सार्न चाहने कोरोनाभाइरस संक्रमितको मृत्यु
काठमाडौं। अरुलाई संक्रमण सार्न चाहने एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । जापानमा आफूमा संक्रमण भएको पाइएपछि ती संक्रमित यो महिनाको सुरुवातमा ‘अरुलाई सार्न चाहेको’ भन्दै एक फिलिपिनो बारमा गएका थिए । मार्च ४ मा उनी संक्रमित भएको पुष्टि भएको थियो । गामागोरीका ती ५७ वर्षका व्यक्ति संक्रमित भएको थाहा पाएपछि पबमा गएका थिए । उनी गएको बारकी ३० वर्षकी एक महिलामा संक्रमण देखिएपछि पुलिसले गत शुक्रबारदेखि ती व्यक्तिको बारेमा अनुसन्धान थालेको थियो ।
ती व्यक्तिले इजाकाया बारमा १५ मिनेट बिताएपछि पबमा ४० मिनेटसम्म बसेका थिए । ती व्यक्तिले पबमा काराओके गाएका थिए । साथमा उनले पबकी एक महिला कर्मचारीलाई अंकमाल गरेका थिए । यद्यपि ती महिला कर्मचारीमा भने संक्रमण पाइएको छैन । अर्की महिला कर्मचारीलाई भने मार्च ८ मा ज्वरो बढ्न थाल्यो । परीक्षणका क्रममा ती महिलालाई संक्रमणको पुष्टि भयो । ती संक्रमित आफ्ना मातापितासँग बस्थे र उनका मातापिता पनि संक्रमित थिए । मार्च ४ मा ट्याक्सी चढेर बाहिर जानुअघि उनले आफ्ना अभिभावकसँग आफूले संक्रमण फैलाउन चाहेको बताएका थिए ।
Facebook Comment