मधेसी जनताको नाममा सांसद पद बेचिनु अपराध हो : शुक्ला

डिसी नेपाल
६ चैत २०७६ २०:३२

काठमाडौं। गत राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित सांसद एवं उपाध्यक्ष शेखर सिंहले पार्टीलाई अढाइ करोड रुपैयाँ दिएको अडियो सार्वजनिक भएपछि राजपाभित्र उथलपुथल सुरु भएको छ।

मधेसी जनताको नाममा राजनीति गर्ने भनेपनि नातागोता र आफन्तलाई लाभको पद बाँड्दै राजपा नेताहरु यस पटक पैसा नै लिएर सांसद पद बिक्री गरेके प्रमाण सार्वजनिक भएपछि विवादको भूमरीमा परेका हुन्।

पूर्व रक्षा सचिव एवं सप्तरीका पूर्व सिडियो तिलकराज शर्मासँग सापटी लिएर पार्टीलाई उक्त रकम दिएको भन्ने अडियो सार्वजनिक भएको छ।

विभिन्न ६ वटा मधेस केन्द्रित दल मिलेर गठन भएको राजपामा सांसद पद बेच्ने पार्टीका अध्यक्षहरुमाथि तत्काल छानवीन गरी कारवाही गर्नुपर्ने माग पार्टीभित्र उठ्न थालेको छ।

राजपाका वरिष्ठ उपाध्यक्ष शर्वेन्द्रनाथ शुक्लाले डिसी नेपालसँग कुरा गर्दै मधेसी जनताका नाममा राजनीतिक गर्ने उद्देश्यले गठन भएको दलले राष्ट्रियसभा निर्वाचनमा सांसदको पद बेचिनु घोर अपराध भएको बताए।

‘यो दुग्भार्यपूर्ण छ। सांसद पद बेच्नेहरुमाथि तत्काल केन्द्रीय समितिले छानवीन गर्नुपर्छ,’ उनले भने। उनले राजनीतिक समिति, पदाधिकारी मात्र नभइ केन्द्रीय समिति बैठक बोलाएर तत्काल छानवीन समिति गठन गर्न माग गरेका छन्।

गलत मानिसलाई च्यापेर पार्टी एकीकरण गर्न बाध्य पारिँदा एकीकृत पार्टी कै बद्नामी भइरहेको र शक्ति आर्जन र एकता भन्दा पनि कमजोर बन्दै गएकोमा राजपाका शीर्ष नेता महन्थ ठाकुर पनि चिन्तित भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार ठाकुरले पदाधिकारी बैठकमा यो सांसद खरिद प्रकरणबारे कुरा उठिसकेकाले गम्भीरतापूर्वक छानवीन नभए निराशा अझ थपिने आफूलाई भेट्न आउने कार्यकर्तालाई बताउने गरेका छन्।

भारतीय संस्थापन पक्षको दबावमा यसरी पार्टी एकता गर्न बाध्य पारिएको तर यो प्रत्युत्पादक भएकोतर्फ महन्थले संकेत गरेको राजपा स्रोतले जनाएको छ।

मलाइ बद्नाम गराउने कोशिश भयो :  राजकिशोर यादव
यसैबीच राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले अडियोमा आफ्नो नाम लिने व्यक्तिसँग विगत ६ महिनादेखि कुनै फोन सम्पर्क र भेटघाट नभएको दाबी गरे। ‘यो मलाइ बद्नाम गराउन षड्यन्त्र भयो,’ यादवले डिसी नेपालसँग भने, ‘अडियोमा मेरो नाम लिने व्यक्तिसँग मेरो विगत ६ महिनादेखि फोन सम्पर्क र भेटघाट भएको छैन। यसको नम्बर पनि मसँग छैन।’

उनले यो विषयमा पार्टीभित्र गम्भीर छलफल हुने बताए।

अडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *