भिसा अवधि सकिएर नेपाल फर्कन नसकेका नेपालीलाई सहयोग गछौं : नेपाली राजदूतावास जर्मनी
जर्मनी । युरोपमा रहेका नेपालीहरुको भिसा अवधि सकिएर कोरोना भाइरसका कारण नेपाल फर्कन समस्या परेमा कुटनीतिक कदममार्फत समाधान गरिने जर्मनस्थित नेपाली दूतावासले जनाएको छ । भम्रणमा, आफन्त भेट्न लगायत विभिन्न कारणले आएर भिसाको अवधि सकिएको अवस्थामा सहयोग गर्न दूतावास तयार रहेको राजदूत रमेश प्रसाद खनालले बताए ।
नेपाल फर्कन चाहने या जुन देशमा अड्किएका छन, सोही देशमा राख्ने भन्ने विषयमा सरकारी उच्च तहमा कुटनीतिक तवरले छलफल चलाइसकिएको उनले जानकारी दिए। कोरोनाले विश्वव्यापी माहामारी सिर्जना गरेको अवस्थामा विदेशस्थित कुटनीतिक नियोगहरु आफ्ना नागरिकहरुलाई कुनै पनि अप्ठेरो नहोस् भन्ने सवालमा सजग रहेको खनालको भनाइ छ । जर्मनीस्थित दूतावासले नेपाली नियोग नभएका पोल्याण्ड, चेक रिपब्लिक, स्लोभाकिया र हंगेरीको पनि मामिला हेर्छ ।
डिसी नेपालसँगको कुराकानीका राजदूत खनाल भन्छन्, ‘म आफैं व्यक्तिगत रुपमा दिनरात खटेर नागरिकको लागि काम गरिरहेको छु । भिसा अवधि समाप्त भएर समस्यामा परेका केसहरु आएमा तत्कालै इमेलमार्फत जवाफ पठाएर समाधानको प्रयास गरिनेछ ।’ उनले अहिलेसम्म कुनै पनि नेपालीमा कोरोनाको संक्रमण नदेखिएको तथा कोरोनाको कारणले समस्या भएर नेपाल फर्किन पाउँ भनी कुनै प्रकारको गूनासो पनि नआएको जानकारी गराए ।
कोरोनाको संक्रमण फैलन सक्ने सम्भावित जोखिमलाई रोक्न भन्दै नेपाल सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापान र ती मुलुकबाट ट्रान्जिट हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुलाई शुक्रबारदेखि रोक लगाउने निणर्य गरेको छ । नेपाल सरकारले सतर्कताका लागि गरेको यो निर्णयलाई पनि मध्यनजर गर्दै नेपालीहरुको समस्या हल गर्न कूटनीतिक तवरबाट पहल हुनेमा ढुक्क रहन राजदूत खनालले विश्वस्त पारेका छन् ।
Facebook Comment