डाक्टर भन्छन्–थर्मल गनले कोरोना संक्रमण पत्ता लाग्दैन

डिसी नेपाल
७ चैत २०७६ ११:३६

काठमाडौं। चीनको वुहानबाट सुरु भएको कोरना भाइरस (कोभिड १९) विश्वभर महामारीको रुपमा फैलिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस हालसम्म नेपालमा देखा परेको छैन। कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालमा कोरोना रोकथामको लागि सरकारले विभिन्न उपाय अपनाएको छ।

कोरोना भाइरसको त्रास भएसँगै सरकारले भाइरसबाट बच्नको लागि छिमेकी मुलुकका नाकामा कडाइ गरेको छ। सरकारले कोरोना संक्रमणबाट बच्नका लागि दैनिक सावुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्न  तथा सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।

योसँगै सरकारले विभिन्न नाकाबाट नेपाल प्रवेश गर्ने र विमानस्थलबाट आउने यात्रुको तापक्रम मापन गर्ने गरेको छ। तर डाक्टरहरुले भने तापक्रम मापन मात्रै कोरोना भाइरस रोकथामको लागि प्रयाप्त नभएको बताएका छन्।

त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दासले थर्मल गनले तापक्रम जाँच गरेरमात्रै कोरोना रोगथामका लागि प्रयाप्त नहुने बताए।

‘विमानस्थल, नेपाल–भारत सिमानासँगै विभिन्न संघ संस्थाले तापक्रम जाँच गर्दै आएका छन्,’ डाक्टर दासले डिसी नेपालसँग भने, ‘कोरोना संक्रमण पत्ता लगाउन थर्मल गनले मात्रै संभव हुँदैन।’ उनले थर्मल गनले भाइरस पत्ता लाग्छ भन्नु नै गलत भएको बताए।

थर्मल गनले मानिसको तापक्रममात्रै जाँच गर्न मिल्ने उनको भनाइ छ। उनले तापक्रम बढी देखिएका मानिसलाई अस्पताल नल्याई घरमै सेल्फ क्वारेन्टाइमा राखेर निगरानी गर्दा उचित हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *