‘नोटबाट कोरोना भाइसर संक्रमण हुनसक्छ, विद्युतीय कारोबार गर्नुहोस’
काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बैंकर्सहरुले सकेसम्म नगद कारोबार नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघ, विकास बैंकहरुको संगठन डेभलपमेन्ट बैकर्स एसोशिएसन र फाइनान्स कम्पनीहरुको संगठन नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा विज्ञप्ती जारी गरी नोटको सट्टा विद्युतिय कारोबार गर्न आग्रह गरेको हो ।
‘कोरोना संक्रमण हुनसक्ने एक माध्यम नोटहरुपनि हुनसक्ने देखिएकाले सम्भव भएसम्म नोट कारोबारको सट्टा कार्ड र विद्युतिय कारोबारको माध्यम प्रयोग गर्नहुन सबैमा अनुरोध गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।
बैकर्सहरुले विद्युतिय कारोबारलाई प्रोत्साहन गर्नका लागि सबै बैंक तथा वित्तीय संस्थाको कार्ड प्रयोग गरी नेपालभित्रका जुनसुकै एटिएमबाट पैसा निकाल्दा पैसा नलाग्ने व्यवस्था गरिएको जानकारी दिएका छन् । एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर समेत निशुल्क गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी इन्टरनेट, मोवाईललगायतका विद्युतिय माध्यमबाट गरिने कारोबारमा समेत कुनै प्रकारको शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
बैकर्सहरुले अत्यावश्यक बाहेकको अवस्थामा सेवा लिन शाखामा नआउनु समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।
शुक्रबारनै नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणी शिवाकोटी र बैकर्सहरुबिच कोरोना संक्रमणले बैंकिङ क्षेत्रमा पार्ने प्रभाववारे छलफल भएको थियो । छलफलमा सुरक्षात्मक उपाय अपनाउदै तत्कालका लागि बैंकिङ सेवा यथावत अवस्थामै संचालन गर्ने निर्णय समेत भएको थियो ।
Facebook Comment