गौशालामा गाईलाई घाँस खुवाउँदै सोमपाल कामी

काठमाडौं । छिमेकी राष्ट्र चीनमा कहर सृजना गरेर विश्वका अरु मुलुकमा समेत बितण्डा मच्चाइरहेको कोरोना नामक भाइरसको असर अहिले नेपालमा समेत अनुभव गर्न थालिएको छ । कोरोना संक्रमित बिरामीहरु देखा नपरिसकेको भएपनि नेपाल सरकारले यो भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानीहरु सहित देशबासीका नाममा आदेशसहितको अपिल जारी गरिसकको छ ।
सरकारद्वारा जारी १५ बुँदे अपिलमा २५ जना भन्दा बढीको समूहमा भेला नहुने, सिनेमा हल, पार्टी प्यालेस, पार्क, मठ मन्दिर लगायतका धेरै आवतजावत हुने स्थानहरुमा भेला नहुन समेत आग्रह गरिएको छ । सरकारले नै आदेश सहितको अपिल जारी गरेपछि शिक्षा, खेलकुद लगायतका सबै क्षेत्र प्रभावित हुनपुगेको छ । कोरोना भाइरसबाट बच्न विद्यार्थी, कलाकर, कर्मचारी, खेलाडी लगायत सबैले आ–आफ्नो अनुकूलको सावधानी अपनाउन सुरु गरिसकेका छन् ।
यसरी कोरोना कहरका कारण फुर्सदिला भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका होनहार खेलाडी सोमपाल कामीलाई हामीले फुर्सदको समय कसरी बिताउँदै हुनुहन्छ भनी प्रश्न गरेका थियौं । डिसीनेपालसँगको सानो कुराकानीमा उनले घरमा परिवारसँग समय बिताउने र सामाजिक सञ्जालमा सक्रिय रहेको बताए । ढाडमा केही समस्या भएकोले रिकभरका लागि जीम जाने गरेको पनि उनले उल्लेख गरे ।
उनले फोनमा साथीहरुसँग कोरोनाको हल्ला शान्त भएपछि आगामी योजनाका बारेमा छलफल गर्ने गरेको पनि बताए । साथै टीभीमा आउने कार्यक्रमहरु हेरेर समय सदुपयोग गर्ने गरेको बताए । यसबाहेक उनले आफ्नो युट्युब च्यानलमा एउटा भिडीयो पनि अपलोड गरेका छन् । भिडियोमा सोमपालले गौशालामा गाईको समूहलाई घाँस खुवाउँदै गरेको देख्न सकिन्छ । बाच्छा बाच्छीलाई घाँस खुवाउनुका साथै सोमपालले हिन्दू धर्मअनुसार गाई तथा बाच्छा बाच्छीलाई ढोगेको पनि देख्न सकिन्छ ।
Facebook Comment