वार्नरले ‘द हन्ड्रेड’ क्रिकेट नखेल्ने

एजेन्सी । अष्ट्रेलियाका डेभिड वार्नरले पहिलो सिजनको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।
यसै वर्षको जुलाई १७ देखी इंग्ल्यान्ड र वेल्समा आयोजना हुने द हन्ड्रेडमा वार्नर साउथर्न ब्रेभमा आबद्द थिए । उनलाई ब्रेभले २ लाख ४९ हजार डलरमा अनुबन्ध गरेको थियो । तर, वार्नरले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । वार्नरले अष्ट्रेलियाबाट अन्तराष्ट्रिय खेल खेल्नका लागि प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको उनका म्यानेजरले बताएका छन् ।
भारतमा हुने विश्वकपको बाटोको रुपमा रहेको ओडीआई सुपर लिग आगामी मेबाट सुरु हुँदैछ । १३ राष्ट्र सहभागी हुने प्रतियोगिताको लागि वार्नरले प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । लिग अन्तर्गत अष्ट्रेलियाले पहिलो सिरिज जिम्बाबेसँग अगष्टमा खेल्दै छ । द हन्ड्रेडमा नेपालका सन्दीप लामिछानेले पनि खेल्नेछन् । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने प्रतियोगितामा सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् ।
एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १५ अगष्टसम्म चल्ने छ । प्रतियोगिताको पहिलो खेल सन्दीप आबद्ध टिम ओभलले वेल्स फाएरसंग सन् २०२० को जुलाई १७ मा खेल्ने छ ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष टिम फाइनलमा पुग्नेछ ।
Facebook Comment