‘पर्यटन व्यवसायीहरुलाई सरकारले विस्थापित हुन दिनुहुँदैन’

डिसी नेपाल
८ चैत २०७६ ९:५९

काठमाडौँ । पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले कोरोनाको मारमा परेका पर्यटन व्यवसायीले अहिलेको अवस्थामा भोग्नु परेको क्षतीको भरपाई सरकारले गनुपर्ने बताएका छन् । डिसीनेपासँगको संवादमा अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्रमा बढी असर परेकाले पर्यटन व्यवसायीहरुले बैंकको व्याज, किस्ता र घरभाडा तिर्न सक्ने अवस्था हाललाई नभएका कारण केही समय सम्मलाई सरकारले जिम्मा लिएर भएपनि घरभाडा र कामदार व्यवस्थापनमा सहजीकरण गरिदिन उनले सरकारसँग अनुरोध गरेका छन् ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका निवर्तमान सदस्य सापकोटाले पर्यटनमा लगानी गरेकाहरुको सुरक्षा र भरपाई सरकारले गरिदिन्छ भन्ने आशा सहितको विश्वास गरेका छन् । सन् १९७९ मा धादिङको निलकण्ठ नगरपालिका वडा नं १४ धुवाकोटमा जन्मिएका सापकोटा बिगत २२ बर्षदेखि पर्यटन व्यवसायकै क्षेत्रमा आबद्ध छन्। सुरुमा मजदुर तहबाट होटल क्षेत्रमा करिअर सुरु गरेपनि यतिबेला उनी ठमेल क्षेत्रमा कहलिएका व्यवसायी मध्येमा पर्छन्।

यसअघि उनले नेपाल पर्यटन बोर्डमा समेत सदस्यका रुपमा आफ्नो सफल भूमिका प्रस्तुत गरिसकेका छन्। होटल क्षेत्रमा आफ्नो लामो करिअरमा अहिलेको जस्तो अवस्था भोग्नु नपरेको अनुभव उनले सुनाए । कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमै रहेको छ । यसले नेपालमा मूलतः पर्यटन क्षेत्रमा सबैभन्दा बढी प्रभाव पारेको बेथा उनी सुनाउँछन् ।

सापकोटा भन्छन् ‘तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा बढी प्रभाव यस क्षेत्रमा रहेको छ किनभने हाम्रो देशको पर्यटन क्षेत्र चाही आन्तरिक पर्यटकले चलेको होइन, विदेशी पर्यटकहरु नै आउने हो। अहिले नेपालमा लगभग लकडाउनको स्थिति रहेको छ।’ काठमाडौंको ठमेलमा रहेका प्रायजसो होटलहरु गेस्टको अभावमा शून्य अवस्थामा रहेको दुखेसो उनी पोख्छन् ।

पर्यटन व्यवसायीहरुले बैंकको व्याज, किस्ता र घरभाडा तिर्न सक्ने अवस्था हाललाई छैन, तसर्थ कम्तीमा ६ महिना सम्मलाई सरकारले जिम्मा लिएर ६ महिना पछी मात्र तिर्ने व्यवस्था गरियोस र पर्यटनमा गरिएको लगानीको सुरक्षा गरियोस् ।

हायातजस्ता ठूला होटलहरु नै बन्द भैसकेका छन्। पर्यटकीय क्षेत्र ठमेलका अधिकांश होटलहरु बन्द हुने अवस्थामा छन्। नाम चलेका र ठूला होटलहरु नै भटाभट बन्द हुनथालेपछि सानासाना व्यवसाय गर्नेहरुको पनि केही दिनसम्म जेनतेन थेग्न सक्ने नत्र हामीले पनि बन्द गर्ने नै स्थिति आउँने अनुमान उनले व्यक्त गरे ।

समग्रमा पर्यटन क्षेत्र अरु क्षेत्रभन्दा प्रभाबित भएको अनुमान उनले लगाएका छन् । अनि यो क्षेत्रमा असर पर्नु भनेको मुलुककै अर्थतन्त्रमा असर पर्ने कुरा हो । यो क्षेत्र धराशायी हुनु भनेको बिदेशी मुद्राको आयातमा ब्रेक लाग्नु हो भन्ने बिचार उनले पोखे । ‘अहिले मेरै होटलमा भएको ४० रुममा बिहीबारसम्म जम्मा ४ रुममा मान्छे थिए’ उनले भने । सम्भवतः शनिबारसम्म होटल नै शुन्य हुने अनुमान उनले गरे।

सन १९९८ देखि पर्यटन क्षेत्रमा लागेको २० बर्षभन्दा बढी भैसक्यो तर यसपालीजस्तोे भयावह स्थिति सिर्जना भएको उनलाई थाहा छैन। २० बर्षको अनुभवमा माओवादीको १० वर्षे जनयुद्धकाल तथा २०७२ सालको भूकम्पमा समेत यस्तो स्थिति सृजना भएको थिएन। भूकम्पको समयमा समेत एक बर्षमै कारोबार पुरानै अवस्थामा फर्किएको अनुभव उनकोे रहेको छ। ५ लाख ५३ हजार पर्यटक त भूकम्प गएको सालमा समेत नेपाल आएको आँकडा उनले प्रस्तुत गरे ।

कोरोना भाइरस चाही संसारभरीको संकट हो । त्यसैले अहिले अन्योलको अवस्था छ। कहिलेसम्म यो स्थिति रहन्छ कसैलाई थाहा छैन। ‘तर यो नियन्त्रण भएपछि पनि हामीलाई पुरानै अवस्थामा फर्कन समय लाग्छ’ उनले दुखेसो पोखे । ‘मजदुरबाट सुरु गरेको पेशा हुँदै पोर्टर गाइड अनि व्यवसायी सम्म भइयो’ उनले भने ‘तर अहिलेको अवस्थाले अलि डर सृजना गरेको छ । कति समयसम्म यो पेशामा टिक्न सकिन्छ थाहा छैन ।’

हाल ७० प्रतशतभन्दा बढी कामदारहरुलाई पेड लिभमा पठाएको उनले बताए । पेड लिभमा गएका मजदुरलाई पनि चटक्क निकाल्दा समस्या हुन्छ । लगभग ७० प्रतिशत ठमेलका व्यवसायीले अरुको घर भाडामा लिएर, बैंकको ऋणमा आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् । अधिकांश व्यवसायीहरुले बैंकको व्याज, किस्ता र घरभाडा तिर्न सक्ने अवस्था हाललाई छैन । तसर्थ केही समय सम्मलाई सरकारले जिम्मा लिएर भएपनि घरभाडा र कामदार व्यवस्थापनमा सहजीकरण गरिदिनुपर्ने अनुरोध उनले गरेका छन् ।

पर्यटनमा लगानी गरेकाहरुको सुरक्षाका निम्ति विशेष राहतका रुपमा केही घोषणा गरेर सरकारले व्यवसायीहरुलाई टिकाउनका लागि केही कदम चाल्छ भन्ने आशा सापकोटाले लिएका छन् । व्यवसायीले सरकारसँग भिख माग्ने होइन तर सरकारले घरधनी र व्यवसायीबिच मध्यस्थकर्ताका रुपमा रहेर केही सहुलियत उपलब्ध गराउने वातावरण सिर्जना गरिदिनु पर्ने बिचार सहित उनले कामदारको तलबमा समेत सरकारले ५० प्रतिशत बेहोरिदिनन आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *