कोरोनाभाइरसबाट महिलाभन्दा धेरै पुरुषको मृत्यु किन भइरहेको छ ? यस्तो छ वैज्ञानिक कारण

डिसी नेपाल
८ चैत २०७६ १२:५९

काठमाडौं। कोरोनाभाइरसको प्रकोप बढिरहेको छ । यसबाट सबैभन्दा धेरै प्रभावित देश इटली बन्न पुगेको छ । इटलीमा मृत्यु हुनेको संख्या चीनको भन्दा निकै धेरै भइसकेको छ । पछिल्लो जानकारीअनुसार इटलीमा गएको २४ घण्टामा मात्र ६२७ जनाको ज्यान गयो । ५ हजार ९८६ नयाँ संक्रमित भेटिएका छन् । यहाँ कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ४ हजारभन्दा धेरै भइसकेको छ । कोरोनाभाइरसबाट मृत्यु हुनेहरुमा एउटा विशेष तथ्य भेटिएको छ । मृत्यु हुनेहरु महिलाको तुलनामा पुरुषहरु धेरै छन् ।

बेलायती मिडिया इन्डिपेन्डेन्टले विशेषज्ञको हवाला दिँदै कोरोनाभाइरसको खतरा तुलनात्मक रुपमा वृद्धहरु र पुरुषहरुमा महिलाको तुलनामा बढी भएको जनाएको छ । चीनमा पनि यही तथ्य भेटिएको थियो, त्यहाँ पनि ज्यान गुमाउनेमा पुरुष बढी थिए । र, अहिले इटलीमा पनि संक्रमित र ज्यान गुमाउनेहरु पुरुष नै बढी छन् । रोमको उच्च स्वास्थ्य संस्थानका अनुसार संक्रमितमध्ये ५ प्रतिशत महिलाको मृत्यु भएको छ भने ८ प्रतिशत पुरुषको मृत्यु भएको छ ।

वैज्ञानिक तथा जोन हप्किन्स विश्वविद्यालयकी प्राध्यापक साबरा क्लेनले भनिन् ‘पुरुषहरुमा कोरोनाभाइरसको खतरा त्यत्तिकै छ जति वृद्धहरुमा छ । मानिसहरु यसप्रति जागरुक हुनुपर्छ कि यो एक प्याटर्नजस्तै चलिरहेको छ ।’ क्लेनले यो भिन्नता जैविक वा व्यवहारिक हुन सक्ने बताइन् । एक अनुसन्धानका अनुसार महिलाको रोग प्रतिरोधी शक्ति महिलाको भन्दा बढी हुन्छ । पुरुषहरुमा धुम्रपान र हात कम धुने बानी हुन्छ ।

अमेरिकाका डाक्टर डेबोरा बीरक्सका अनुसार इटलीमा मृत्यु हुने हरेक उमेरका पुरुषको संख्या महिलाको तुलनामा दोब्बर थियो । मुख्य गरी ५० भन्दा माथि उमेरका पुरुषहरु धेरै संक्रमित थिए । विशेषज्ञका अनुसार महिलामा पाइने यौन हर्मोन इस्ट्रोजोनले पनि रोग प्रतिरोधी क्षमता बढाउँछ । एक्स क्रोमोजोमलाई पनि रोग प्रतिरोधी जीन मानिन्छ जो महिलामा दुई र पुरुषमा एक हुन्छ ।

अमेरिकाको जर्जटाउन युनिभर्सिटकिी निर्देशक क्याथरिन स्याण्डबर्गका अनुसार पुरुषहरुको स्वास्थ्य र व्यवहारले कोरोना संक्रमणका विषयमा अहम भूमिका निभाउँछ । स्याण्डबर्गले भनिन् ‘महिलाको तुलनामा पुरुषमा कम उमेरमै मुटुरोग, उच्च रक्तचाप जस्ता समस्या सुरु हुन्छन् र यस्ता समस्याले कुनै पनि गम्भीर रोगको सम्भावना बढाउँछन् ।’ यसअघि अन्य केही विज्ञले पनि धुम्रपानले कोरोनाभाइरसको संक्रमणको खतरा बढाउने चेतावनी दिएका थिए । चीनमा गरिएको एक अध्ययनमा पनि महिलाको तुलनामा पुरुषमा धेरै संक्रमण पाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *