कोरोनाभाइरस संक्रमितको उपचार खर्च ४२ लाख ! बिरामीको घरमै बिल

डिसी नेपाल
८ चैत २०७६ १५:२९

काठमाडौं। एक महिलालाई कोरोनाभाइरस संक्रमणको जाँच र उपचारको लागि अस्पतालले ४१ लाख ८० हजार रुपैयाँ (३४,९२७.४३) को बिल पठाएको छ । टाइम डटकमको रिपोर्टअनुसार फेब्रुअरीको अन्त्यमा ड्यानी एस्किनीनामकी महिलाको छाती दुख्न सुरु भएको थियो । त्यसपछि उनी अस्पताल पुगेकी थिइन् । एस्किनीलाई छाती दुख्नुको साथै सास फेर्न गाह्रो हुने र माइग्रेनको समस्या पनि हुन थालेको थियो ।

उनका डाक्टरलाई लाग्यो कि उनलाई नयाँ औषधीका कारण रिएक्सन भइरहेको छ । त्यसपछि डाक्टरले अमेरिकाको बोस्टनकी ती महिलालाई अस्पतालको आकस्मिकमा पठाए । सुरुवाती जाँचमा एक्सिनीलाई निमोनिया देखियो र डाक्टरले औषधी दिएर घर पठाए । तर, केही दिनमै उनको तापक्रम बढ्न थाल्यो र कफ पनि बढ्न थाल्यो । दुई पटक फेरि अस्पताल गएपछि अन्ततः सातौ दिन एस्किनीको कोरोनाभाइरस परीक्षण गरियो ।

परीक्षणको ३ दिनपछि एस्किनीलाई कोरोनाभाइरस संक्रमण देखियो । केही दिनपछि एस्किनीलाई अस्पतालको तर्फबाट जाँच र उपचारको लागि झण्डै ३५ हजार डलर बराबरको बिल पठाइयो । एस्किनीले भनिन् ‘म बिल देखेर चकित परें । म निजी रुपमा यस्तो कसैलाई चिन्दिन जोसँग यति पैसा होस् ।’ एस्किनीजस्तै अमेरिकामा २ करोड ७० लाख मानिसहरुसँग स्वास्थ्य बिमा छैन ।

अमेरिकामा कोरोनाभाइरसको जाँच निःशुल्क गर्ने घोषणा गरिएको छ । तर जानकारहरुले भने उपचारका लागि बिरामीहरुले मोटो रकम तिर्नुपर्ने डर व्यक्त गरेका छन् । १८ मार्चमा अमेरिकाले फेमिलिज फर्स्ट कोरोनाभाइरस रेस्पोन्स एक्ट लागू गरेको छ । यस अन्तर्गत कोरोनाभाइरसको जाँच निःशुल्क गरिनेछ । यद्यपि यो कानुनमा उपचार खर्चका विषयमा केही भनिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *