‘हल्लाको पछि नलाग्नुस्, नेपालमा कोरोना संक्रमित छैनन्’

डिसी नेपाल
९ चैत २०७६ ७:५१

काठमाडौं। विश्वभर महामारीको रुप लिएको कोरानो भाइरसले ११ हजार भन्दा बढीको ज्यान लिइसकेको छ। नेपालमा हालसम्म १ जनालाई मात्र कोरोना संक्रमण भएको थियो, संक्रमित पनि उपचारपछि ठिक भइसकेको छन्।

विश्वलाई आफ्नो चपेटामा लिएको कोरोना भाइरस नेपालमा पनि भित्रिएको तर लुकाइएको भनेर समाजिक संजालमा भाइरल बनाइएका बेला टेकु अस्पतालका इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखामा कार्यरत डाक्टर हेमन्त ओझाले नेपालमा एक जनालाई बाहेक अन्यलाई अहिलेसम्मको कोरोना संक्रमण नभएको बताएका छन्।

डाक्टर ओझाले कोरोना भाइरस कस्तो अवस्थामा सर्छ भनेर जानकारी हुनुपर्ने बताउँदै नेपालमा अहिलेसम्म कोरोना नभएको बताएका हुन्। उनले भने, ‘यदि कोरोना भाइरस अन्य व्यक्तिमा सरेको भए हालसम्म करिब ५४/५५ दिनमा अन्य केस देखिनु पर्ने हो, उहाँले भेटेका मध्य म पनि एकजना हुँ। खै मलाइ केही भएको छैन त! व्यक्तिमा कस्तो संक्रमण थियो, कस्तो पिरियडमा भेटिएको थियो, संक्रमण नफैलिने दुई वटा पिरियड हुन्छ, यदि व्यक्तिमा कमजोर किसिमको भाइरस छ भने भाइरस फैलाउन सक्दैन त्यसैले कस्तो भाइरस छ भन्ने कुरामा भर पर्छ।’

अर्पण गरिबी निवारणले आयोजना गरेको कार्यक्रममा बोल्दै डाक्टर ओझाले कोभिड १९ को कुनै औषधि नबनेको तर जुन व्यक्तिमा जस्तो लक्षण देखिएको छ त्यस्तै उपचार गर्दै आएको बताए। ‘कोभिड १९ को लागि भनेर औषधि कुनै देशमा पनि बनेको छैन, बिरामीमा जुन समस्या देखिन्छ त्यसकै औषधि प्रयोग गरेर निको भएको छ।’

कोभिड भाइरससँग डराउने भन्दा पनि हल्लाको पछाडि नलाग्न सुझाव दिएका ओझाले लसुन, अदुवा, बेसार प्रयोग गर्नु स्वास्थको लागि राम्रो हुने तर, यसले कोरोना भाइरस नियन्त्रणको काम नगर्ने बताए।

उनले भने, ‘कोरोना भाइरसको लागि लसुन, बेसार अदुवाले काम गर्दैन, यो स्वास्थको लागि भने उपयोगी हुन्छ तर भाइरसको लागि भन्दै अत्याधिक खानले यस्ले अर्को समस्या निम्त्याउन सक्छ।’

डाक्टर ओझाले कोरोनाको मुख्य लक्षण उच्च ज्वरो आउने बताए। ‘कोरोनाको प्रमुख देखिने लक्षण नै धेरै ज्वरो आउनु, सुख्खा खोकी लाग्ने, स्वास प्रस्वासमा समस्या हुनु हो, कोरोना हुनको लागि ज्वरो उच्च नै हुनुपर्छ।’

सकेसम्म संक्रमित व्यक्तिको नजिक नजाने तर हात मिलाएर धोएको अवस्थामा पनि कोरोना सर्छ भन्ने नहुने उनको भनाइ छ। उनले भने, ‘कोरोना संक्रमितको नजिक नजानु नै उचित हो। तर अन्जानमा रोगीसँग हात मिलाइन्छ र स्यानिटाइजर, साबुन पानीले हात धोइन्छ भने त्यो समयमा कोरोना सर्दैन।’

कोरोना भाइरस महामारी फैलिएको थाहा हुँदाहुँदै यसलाई हेलचक्राइँ नगर्न सुझाव दिँदै उनले भने, ‘कोरोना भाइरसको समस्या स्वास्थ मन्त्रालयले मात्र सुल्झाएर हुँदैन, भाइरसबाट वचन आम नागरिक सचेत हुनुपर्दछ र आफ्नो समस्यासँगै पछाडिको स्थिति बताउनुपर्छ, जस्तो कि तपाईंलाई अत्याधिक ज्वरो आएको छ। तर तपाईंले स्वस्थकर्मीसँग आफूलाई किन ज्वरो आएको, कसरी ज्वरो आएको भन्ने कुरा बताउनु पर्छ, हिजो कतै घुमेर आउँदा, कोहीसँग भेटेर आउँदा ज्वरो आएको हो भने त्यही अनुसार बताउनु पर्ने हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *