घरभित्रै रहन गरिएको आग्रह नटेरेको भन्दै कुवेतमा आंशिक कर्फ्यूको घोषणा
काटमाडौं। कुवेतको स्वास्थ्य मन्त्रालयले यसअघि घरभित्रै बस्न दिएको निर्देशनको पालना नगरिएको भन्दै आंशिक कर्फ्यू लगाउने घोषणा गरेको छ । सरकारले आजदेखि कोरोनाभाइरस फैलिन नदिने उद्देश्यसहित आंशिक कर्फ्यू लगाउने भएको एक बरिष्ठ अधिकारीले शनिबार अबेर जानकारी दिए ।
डेपुटी प्रिमियर तथा आन्तरिक मामिला मन्त्री अनास अल सलेहले पत्रकार सम्मेलनमा बताएअनुसार आइतबारदेखि ११ घण्टे कर्फ्यू लागू गरिनेछ । बेलुकी ५ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू लगाइने उनले जानकारी दिए ।
‘दुःखपूर्वक भन्नुपर्छ, स्वास्थ्य मन्त्रालयको घरभित्रै बस्ने निर्देशनको पालना नभएपछि सरकार कर्फ्यू लागू गराउन बाध्य भएको छ’ सलेहले भने । उनका अनुसार अति आवश्यक क्षेत्रमा काम गर्नेहरुका लागि कर्फ्युको समयमा बाहिर निस्कन सिभिल डिफेन्स सिस्टमले परिचय पत्र उपलब्ध गराउनेछ ।
सलेहले यसअघि सबै सरकारी र निजी कम्पनीहरुमा मार्च २६ सम्मका लागि दिइएको सार्वजनिक विदाको अवधि २ हप्ताका लागि थपिएको पनि जानकारी दिए । यसको अवज्ञा गर्नेहरुका लागि कडा सजायको समेत घोषणा गरिएको छ । अवज्ञा गर्नेहरुलाई १ वर्ष जेल र १० हजार केडीसम्म जरिवाना हुने बताइएको छ ।
Facebook Comment