संकटमा बेलायतः कोरोनाभाइरसको संक्रमण र मृत्युदर इटलीकै बाटोमा अघि बढ्दै

डिसी नेपाल
९ चैत २०७६ १२:०३

काठमाडौं। कोरोनाभाइरसको बढ्दो संक्रमण र मृत्युदरमा बेलायत इटलीकै अनुपातमा अघि बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार आजको मितिमा बेलायत इटलीभन्दा ठिक २ हप्ता पछि छ । डेलिमेलका अनुसार शनिबार बेलायतमा मृत्यु हुनेको संख्या २३३ पुग्यो । मार्च ७ मा इटलीमा पनि मृत्यु हुनेको संख्या ठिक यही थियो । यो तथ्यांक ठिक त्यही समयमा सार्वजनिक भएको छ जुन दिन बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नागरिकले सरकारले गरेको आग्रह नमानेमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा पनि इटलीको जस्तै अनियन्त्रित हुने चेतावनी दिएका छन् ।

जोनसनले भने ‘संख्याहरु तीब्र गतिमा बढिरहेका छन् र हामी इटलीभन्दा १ हप्ता, २ हप्ता वा ३ हप्ता मात्र पछि छौं ।’ जोनसनले इटलीको स्वास्थ्य प्रणाली निकै उत्कृष्ट हुँदाहुँदै पनि त्यहाँका स्वास्थ्यकर्मीहरुले मागको अनुपातमा सेवा दिन नसकिरहेको उल्लेख गरे । शनिबार बेलायतमा मृत्यु हुनेको संख्या २३३ पुग्यो । यो संख्या इटलीमा २ हप्ता अगाडि थियो र २ हप्तापछि इटलीमा मृत्यु हुनेको संख्या ४ हजार ८२५ पुगिसकेको छ ।

बुधबार इटलीमा एक दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या सर्वाधिक पुग्यो । यस दिन २४ घण्टामा ४७५ जनाको मृत्यु भयो र राष्ट्रिय लकडाउनले संक्रमण फैलिनबाट रोक्न सकिने आशामाथि प्रश्न उठ्यो । त्यसपछि मृत्यु हुनेको संख्या झनै बढिरहेको छ । यो हप्ताको सुरुमा चीनबाट आएको रेडक्रसको टिमले पूर्ण क्वारेन्टाइन र राष्ट्रिय लकडाउनलाई गम्भीरताका साथ नलिएको भन्दै इटलीको आलोचना गरेको थियो ।

बेलायतमा पनि यसैगरी स्थितिलाई गम्भीरताका साथ लिइएको छैन जसका कारण बेलायतका मुख्य वैज्ञानिक सल्लाहकारले त युवाहरुसँग बाहिर नगइदिनको लागि भिख नै माग्नु परेको छ । मुख्य वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले युवाहरुको अवज्ञाको कडा आलोचना गर्दै रेष्टुरेण्टमा घुलमिल हुने काम तत्काल रोकिनुपर्ने बताएका थिए । यही हप्ता बेलायतीहरु पब र नाइट क्लवमा जम्मा भएर पार्टी गरिरहेका भिडियोहरु सार्वजनिक भएपछि उनले यस्तो बताएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *