भारतँगको नाका बन्द गरिने संकेत, आजै घोषणा हुन सक्ने
काठमाडौं। सरकारले भारतसँगको नाका बन्द गर्न सक्ने संकेत गरेको छ । शुक्रबार मात्र देशबासीका नाममा सम्बोधन गर्दै विभिन्न विषयमा कडाइ गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
पछिल्लो समय विभिन्न तहबाट भारतसँगको नाका बन्द गर्न सुझाव आइरहेको र आइतबार मात्र सीमावर्ती बिहारमा कोरोनाभाइरसका कारण १ जनाको मृत्यु भइरहेको पृष्ठभूमिमा सरकार कठोर बन्न सक्ने देखिएको छ । आजको बैठकमा नाका बन्द गर्ने निर्णय हुन सक्ने आशंका गरिएको छ ।
मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्रीले आइतबार अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन् । बैठकले गत शुक्रबार प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको घोषणालाई पनि अनुमोदन गर्ने छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका थप निर्णय गर्न प्रधानमन्त्रीले बैठक बोलाएको स्रोतले बतायो ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द गर्न आह्वान गर्दै ‘लक डाउन’ को अनौपचारिक घोषणा गरेका थिए । बैठकअघि प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास समेत पुगेपछि आजको बैठकमा ठूलो निर्णय हुन सक्ने अनुमान गरिएको छ । साप्ताहिक रुपमा सरकारका कामको बारेमा जानकारी दिने कार्यसूची भएपनि अस्वस्थ प्रधानमन्त्री यसरी जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
bihar ma aaisakyo,aajai bata naaka band garau..