गरिब कोरोना, धनी कोरोना

डिसी नेपाल
९ चैत २०७६ १५:३२

आफ्नो टोलको जनरल स्टोरमा घरको सामान किनिरहेका एक व्यक्तिलाई देखें जो मिनरल वाटरका कार्टुनहरु जम्मा गरिरहेका थिए तर जिद्दीमा अडिएका थिए कि पाकिस्तान वाला नेस्ले चाहिन्न, त्यो दुबई वाला आउँछ त्यो चाहियो । जब पसलेले भने कि त्यो अहिले उपलब्ध छैन उनी झेक्किँदै गाडीको चाबी घुमाउँदै कुनै राम्रो स्टोरतिर हिँडे ।

मेरो टोलको स्टोर भएकै गल्लीमा कराँचीको चर्चित पब्लिक होटल ‘क्याफे क्लिफ्टन’ छ । यो यतिसम्म पब्लिक छ कि ईदको दिन पनि बन्द हुँदैन । कराँचीका यस्ता ठाउँ धेरै कम छन् जहाँ कालिक र मजदूर एकसाथ बसेर चिया पिउँछन् ।

यहाँ बिहान निःशुल्क नाश्ताको पनि व्यवस्था हुन्छ । कैयौं वर्षदेखि हेरिरहेको छु एउटा परौंठा र चियाको कपका लागि लाइन लामो हुँदै गइरहेको छ । मानिसहरु आफ्ना ६ छोराछोरी पनि ल्याउँछन् । नाश्ताको व्यवस्था गरिरहेका मानिसहरुको हुलियाबाट थाहा हुन्छ कि उनीहरु मेहनती हुन्, भिखारी होइनन् ।

उनीहरुमा बर्दी लगाएका निजी सुरक्षा गार्ड हुन्छन्, कहिले रिक्शा चलाउनेहरु र एक–दुई पटक त मैले पुलिसलाई पनि एक हातमा बन्दुक र अर्को हातमा चिया परौंठा समाएको देखेको छु जो क्याफे क्लिफटनका कर्मचारीले कुनै परोपकारी र दयालु शहरबासीलेझैं बाँडिरहेका थिए ।

सिंध सरकारले फैसला गरेको छ र राम्रो फैसला गरेको छ कि जनरल स्टोरका अलावा बाँकी सबै व्यवसाय बन्द गरौं त्यसपछि पहिलोपटक क्याफे क्लिफ्टनको शटर बन्द भएको देखें साथमा यो पनि महसुस भयो कि शहरमा एक धनी कोरोना छ जो दुबईको मिनरल वाटरको खोजीमा छ र एक गरिब कोरोना छ जसलाई बिहान प्राप्त हुने निःशुल्क चिया र परौंठा बन्द भयो ।

कराचीवालाहरु आफूलाई निकै हिम्मतवाला सम्झिन्छन् । म भनिरहन्छु कि हामी अटेरी मानिसहरु हौं । अल्ताफ हुसैनको दादागिरी होस् वा रेन्जर्सको लगातार अपरेशन होस्, देशका अन्य समस्याग्रत क्षेत्रबाट आएर शरण लिनेहरुको ठूलो संख्या होस् वा लगातार हुने चरमपन्थी हमलाहरु, हामी २ दिनपछि नै कपडा टक्टक्याएर उभिन्छौं अनि गल्लीको मोडमा रहेको पानको ढाबामा उभिएर पान बनाउन लगाउँछौं र सोध्छौं ‘अरु सुनाउ के छ खबर ?’

हामी यसलाई अटेरीपन भनौं वा हिम्मत भनौं तर वास्तविकता यही हो कि धेरैजसो शहरमा स्थिरता नै छैन कि ऊ कुनै डरका कारण घरमा बन्द भएर बसोस् । शहरको आधाभन्दा धेरै जनसंख्या दैनिक ज्यालादारी मजदूर हुन् । दिनहुँ इनार खन्छन् र पानी पिउँछन् । घरमा ४–५ दिनभन्दा धेरैलाई पुग्ने राशन हुँदैन । जब अल्ताफ हुसैनको दबदबामा पूरै कराची आधा घण्टाभित्र बन्द हुन्थ्यो त्यतिबेला पनि ४८ घण्टामा मानिसहरु ‘भाइ गयो भाडमा’ भन्दै विस्तारै विस्तारै आफ्नो काममा निस्किन्थे ।

तर, अब उनीहरु कामको लागि जाउन् पनि कहाँ ? एक गरिब, धनीहरुको स्कुल बाहिर पोलेको मकै बेच्ने वाला वा चकलेटका पोका बेच्नेवाला । स्कुल बन्द धन्दा बन्द । हरेक सानो बजारको कुनामा एक मोची जो ‘बाबू’हरुको जुत्ता पालिस गरेर र मजदूरहरुको चप्पल सिलाएर एक छाक रोटी बनाउने वाला, बजार बन्द रोजगार बन्द । समुद्र किनारमा थर्मसबाट कफी बेच्नेवाला, करारे पापडवाले, उँट र घोडाको सवारी गराउनेहरु । समुद्रको किनारा बन्द, घरको चुलो पनि बन्द ।

सडकको किनारामा छिनो, हथौडा, ड्रिल मेसिन, पेन्ट बैश लिएर काम गराउनेहरुको प्रतिक्षा गरिरहेका मजदूर, उनीहरु खाउन् कि कोरोनाबाट बचुन् । ट्राफिक लाइटमा बेलुन, खेलौना बेचिरहेका बालबालिका र १० रुपैयाँको बदलामा तपाइँलाई हाजी साहब भन्ने वृद्ध महिला । शहरको लकडाउनपछि यी सबै कहाँ जान्छन् ?

सिन्ध सरकारका ििवरोधी पनि अनि ती व्यक्तिहरु पनि जो भुट्टोको नामको साथमा गाली दिनु आफ्नो राजनीतिक जिम्मेवारी सम्झिन्छन्, यो कुराका प्रशंशक हुन् कि सिन्ध सरकारले अन्य क्षेत्रको तुलनामा राम्रो काम गरेको छ । स्कुल, कलेज, बजार बन्द गरेर मानिसहरुलाई यो महामारीबाट बच्न तयार गरेको छ ।

अब यो नै राम्रो हुन्छ कि शहरमा फैलिएका धर्मार्थ संस्थाहरुको जाल जस्तै ईधी, सैलानी, अमन फाउण्डेशन र यीजस्तै अन्य संस्थाहरुसँग मिलेर यी मेहनतीहरुको लागि राशन र अन्य सामान्य जीवनका आवश्यकताका सामानहरुको बन्दोबस्त गरियोस् । अन्यथा सक्षम मानिसहरु त घरहरुमा बन्द रहेर आफ्नो मिनरल वाटर पिउँदै बस्छन् तर मजदूर आफ्नो ज्यान हत्केलामा राखेर रोटीको खोजीमा निस्कन बाध्य हुनेछ ।

हनीफ पाकिस्तानका बरिष्ठ पत्रकार हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *