त्रिभुवन विश्वविद्यालयले भन्यो – ‘हामी पनि कोरोनाभाइरसको परीक्षण गर्न सक्षम छौं’
काठमाडौं। नेपालमा कोरोनाभाइरको परीक्षण गर्न सक्षम प्रयोगशाला अहिलेसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र भएको भनिएका बेला त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभागले आफू कोरोनाभाइरसको परीक्षण गर्न सक्षम रहेको जानकारी दिएको छ । नेपालमा अहिलेसम्म भने टेकु अस्पतालमा मात्र कोरोनाभाइरसको परीक्षण हुँदै आएको छ ।
विभागले एक वक्तव्य जारी गर्दै कोरोनाभाइरस परीक्षण गर्ने उपकरण आफ्नो प्रयोगशालामा रहेको र आफ्नो जनशक्ति यसको परीक्षण गर्न सक्षम रहेको जानकारी गराएको हो । विभागले आफूलाई त्रिभुवन विश्वविद्यालयमार्फत आग्रह आए तत्काल गर्न सक्ने केही कामहरुको सूचीसमेत सार्वजनिक गरेको छ ।
विभागले नमूना प्राप्त भएको ४–४ घण्टाभित्र नतिजा दिन सक्ने उल्लेख गरेको छ । उसले सरकारले मागेमा स्नातकोत्तर तहका दक्ष र अर्धदक्ष जनशक्ति पनि उपलब्ध गराउन सक्ने बताएको छ । विभागले आवश्यक परेको खण्डमा आफ्नो प्रयोगशालाका साथै रोगीहरुको संख्या बढेमा आइसोलेसनका लागि आफ्नो नवनिर्मित भवनमा २ हजार वर्ग मिटरको क्षेत्र समेत उपलब्ध गराउन सक्ने बताएको छ ।
Facebook Comment