सीमा नाकाबन्द गर्ने सरकारको निर्णयको राजपाद्वारा स्वागत
काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सीमानाका बन्द गर्ने सरकारी निर्णयबाट पर्न सक्ने असरलाई सहज रुपमा स्वीकार गर्न आग्रह गरेको छ।
कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि चीन र भारतसँग जोडिएका नाकाहरु बन्द गर्ने सरकारको निर्णयलाई सहज रुपमा स्वीकार गर्न राजपाले आग्रह गरेको हो।
सरकारले आइतबार चीन र भारतसँग जोडिएका नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो। भोलि पर्न सक्ने संकटका लागि सजग हुनुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै राजपाले सरकारी निर्णयको स्वागत गरेको छ।
राजपा अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले भारतसँग जोडिएको खुला सीमाना बन्द गरी सतर्कता अपनाउने सरकारी निर्णयको स्वागतयोग्य रहेको बताए। संयोजक भण्डारीले सरकारले जारी गर्ने आधिकारिक सूचनालाई आधार मानेर जीवनयापन गर्न पनि अग्रह गरेका छन्।
कोभिड—१९ को जोखिम बढ्दै गएको बेला भ्रामक र तथ्यहीन हल्लाहरु बढेको उल्लेख गर्दै उहाँले सरकारले जारी गर्ने आधिकारिक सूचनालाई आधार मानेर अनुशासित जीवनयापन गर्न अपिल गरे।
भिडभाड हुने ठाउँमा नजाने, अनावश्यक रुपमा नगइ आफ्नै घरमा सुरक्षित बस्न सरकारले दिएको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए।
Facebook Comment