विश्वका १९५ देशमा कोरोना आतंक, चीनमा भन्दा इटलीमा दोब्बरको मृत्यु, स्पेनमा महामारी

डिसी नेपाल
११ चैत २०७६ ८:२९

काठमाडौँ । महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण विश्वका १९५ देशमा देखिएको छ । कोरोनाका संक्रमणबाट मंगलबार बिहानसम्म ३ लाख ७८ हजार ८ सय ४२ जना मानिस संक्रमित भएका छन्।

जसमध्ये १ लाख २ हजार ६४ जना संक्रमित उपचारपछि घर फर्किएका छन् भने १२ हजार ६२ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भएइरहेको अन्तराष्ट्यि सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तै कोरोनाको महामारीबाट १६ हजार ५ सय १० जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो सातादेखि इटली र स्पेनमा कोरोनाको महामारी व्यपाक देखिएको छ ।

कोरोनाका उद्गमस्थल चीनमा केही दिनदेखि शून्यमा झरेको कोरोना संक्रमण पुन देखिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सोमबार मात्रै चीनमा ७८ जना नयाँ संक्रमित फेला परेका छन् भने ९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

यो सँगै चीनमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ७७ पुगेको छ । चीनमा अझै एक हजार ५ सय ७३ जनाको क्रिटिकल अवस्थामा उपचार भइरहेको छ ।

इटलीपछि स्पेनमा महामारी, एकैदिन ५३९ जनाको मृत्यु

इटलीपछि स्पेनमा कोरोना भाइरसको महारमारी देखिएको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ५३९ जनाको ज्यान गएको छ ।

यो सँगै स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३ सय ११ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्पेनमा सोमबार मात्रै ६ हजार ३ सय ६८ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै स्पेनमा संक्रमितको संख्या ३५ हजार १ सय ३६ पुगेको छ ।

चीनमा भन्दा इटलीमा दोब्बरको मृत्यु

यस्तै पछिल्लो समय महामारीको रुप लिएको कोरोनाको संक्रमणबाट इटलीमा चीनको भन्दा करिब दोब्बर मानिसको ज्यान गइसकेको छ ।

हालसम्म इटलीमा ६ हजार ७७ जनाले ज्यान गुमाइसकेका छन्। इटलीमा कोरोनाको संक्रमणबाट सोमबार मात्रै ६०१ जनाको ज्यान गएको छ । कोरोनाको उद्गमस्थल चीनमा ३ हजार २ सय ७७ जनाले ज्यान गुमाएका छन् ।

कोरोना कारण इटलीमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ भने अमेरिकामा सबैभन्दा धेरै मानिस संक्रमित भएका छन् ।

अमेरिकामा हालसम्म ४३ हजार ७ सय ३४ जना मानिस संक्रमित भएका छन् । जसमध्ये सोमबार मात्रै १० हजार १ सय ६८ जना संक्रमित थपिएका हुन् । मंगलबार बिहानसम्म अमेरिकामा ५ सय ५३ जनाले ज्यान गुमाएका छन् । जसमध्ये सोमबार मात्रै १४० जनाको ज्यान गएको हो।

७ दिनको लकडाउनमा नेपाल

आज चैत्र ११ गतेदेखि नेपालपनि लकडाउन भएको छ । नेपाल सरकारले सोमबार कोरोना संक्रमित एक बिरामी फेला परेसँगै थप संक्रमण फैलिन नदिन भन्दै एक साताका लागि लकडाउन गरेको हो ।

लकडाउनका बेला स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवा भने सुचारु हुनेछन् ।

यस्तो छ १९२ देशमा कोरोना महामारी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *